कलैया,जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा पनि निषेधाज्ञा लगाउने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुसहित सरोकारवालाको बैठकले कोरोना महामारी नियन्त्रण र न्यूनीकरणकोलागि जिल्लामा निषेधाज्ञा लगाउने संकेत गरेको छ ।
बैठकमा सहभागी नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहताले आफुहरुले निषेधाज्ञाको साटो बढी भिडभाड हुने स्थानलाई लक्षित गरेर नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई सुझाव दिएको तर यस विषयमा कुनै निर्णय भइनसकेको बताउनुभयो । ‘मंगलबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, बैठकले नै निषेधाज्ञा लगाउने कि नलगाउने भन्ने बारेमा निर्णय गर्ने छ ।’ बैठकमा जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख र सरोकारवालाहरु सहभागी हुने र सोही बैठकमा छलफल गरेर यसबारेमा निर्णय लिने महताले बताउनुभयो । मंगलबार बस्ने भनिएको संकट व्यवस्थापन समितिको बैठक तयारीको क्रममा सोमबार सरोकारवालाहरुको बैठक बसेको हो ।
सोमबारको बैठकले कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित शैक्षिक तालिम केन्द्रमा रहेको ५० शैयाको आइसोलेशन वार्ड पुन संचालन गर्ने निर्णय पनि गरेको छ ।