वीरगञ्ज,पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीमाथि प्रहरीले कारबाही नगरेको पीडितहरुले गुनासो गरेका छन ।नेपाल पत्रकार महासंघ पर्सामा बिहीवार जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित हरेन्द्र यादवले काटेर भित्र्याउन तयारी गरेको धान राजनीतिक पूर्वाग्रहबाट प्रेरित व्यक्तिहरुले आगजनी गरेको र उनीहरु विरुद्ध जाहेरी दिइएको भएपनि अहिलेसम्म प्रहरीले कुनै कारबाही नगरेको बताए ।

पीडित हरिन्द्र यादवले पुष ९ गते जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आयोजना नगर्न स्थानीय केही व्यक्तिहरुले धम्की दिएको तर नमानेपछि सोही रिसले भित्र्याउन ठिक पारेको आफ्नो धानमा आगजनी गरेको आरोप लगाउनुभयो ।आगजनीको घटनामा संलग्न रहेका वडा नम्बर २२ जगरनाथपुरका ३८ वर्षीय नरेशप्रसाद यादव, सोही स्थान बस्ने ४५ वर्षीय उमेश साह तेली, ३० वर्षका पन्नालाल महतो कोइरी र २८ वर्षीय अनिल यादव भन्ने प्रदीप यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा दिइएको किटानी जाहेरी दर्ता भएपनि अहिलेसम्म कारबाही भने नगरिएको हरिन्द्रको गुनासो छ । उनीहरुले अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम बिथोल्ने उद्देश्यले एक दिनपहिले नै कार्यक्रम गर्न नदिनु यदि कार्यक्रम गरे परिणाम नराम्रो हुने भनेर धम्की दिएको पनि हरिन्द्रले सुनाउनुभयो । उनीहरुले हरिन्द्रको ह्वाट्सएपमा पटक पटक फोन गर्नुका साथै हरिन्द्रका साथी मनोज ठाकुरलाई समेत अरु नेताहरुको बारेमा उपेन्द्र यादवले टिकाटिप्पणी नगरोस भनेर सन्देश पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
आफ्नो खेतमा ११२० बिटामा राखिएको करिब २१० क्विन्टल धानमा आगजनी गरिएको यादवको भनाई छ । उहाँले प्रतिक्विन्टल ३ हजार ५८० को दरले ७ लाख ५१ ह्जार ८ सय र परालको ४० हजार गरी कूल ७ लाख ९१ हजार ८ सय रुपैया बराबरको क्षति पुगेकोले आगजनी गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्ने बताउनुभयो ।
जसपा नेपाल र जसपाबीच पर्सा जिल्लामा चर्किएको द्वन्द्वले अगजनीको घटना भएको अनुमान छ ।वीरगन्ज २२ मै घर रहेको संघीय सांसद प्रदीप यादव उपेन्द्र यादवको जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा पार्टी गठन गरेपछि उपेन्द्र र प्रदीपबीच राजनीतिक द्वन्द्व उत्कर्षमा छ । उनीहरुबीचको द्वन्द्वमा जगरनाथपुर किसान हरेन्द्र यादव पीडित बन्नुभएको हो । जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पर्सा प्रहरीले पीडितको न्यायको लागि काम नगरेको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘घटनाको विषयमा कुरा गर्न जाँदा जिल्ला प्रहरी कार्यालय पर्साको काम कारबाहीबाट जसपा नेपाल सन्तुष्टि छैन । प्रहरी प्रमुखले दबावको कुरा गर्नुहुन्छ । मलाई धेरै दबाव छ । कुन किसिमको दबाव हो ? यसको मतलब यहाँ कानुनी राज्य छैन । सामाजिक न्याय मरेको छ ।’ जोहरी परेकाहरुमाथि तत्काल कारबाही नगरे जसपा नेपालले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भने घटनाको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ठूलो परिमाणमा अन्न जलाएको पो हो त । घटनाप्रति प्रहरी संवेदनशील छ । अनुसन्धान प्रक्रियाअगाडि बढाएका छौं । उहाँहरुले भनेजस्तै नभएर फरक पनि हुनसक्छ ।’पत्रकार सम्मेलनमा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, कुमारबन्धु रुपाखेती, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।


















