वीरगञ्ज । मारवाडी समुदायलाई लक्षित गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिप्रति वीरगञ्ज महानगरपालिकाले खेद प्रकट गरेको छ ।वीरगञ्जका मेयर राजेशमान सिंहले शनिवार एउटा ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै मारवाडी समुदायलाई लक्षित गर्दै व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय विभिन्न मञ्च र सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई गैह्रजिम्मेवारीपूर्ण र निन्दनीय बताउँदै खेद प्रकट गर्नुभएको हो । उहाँले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न पनि अनुरोध गर्नुभएको छ ।‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईँको “मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको” भन्ने जस्ता गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएकोप्रति खेद व्यक्त गर्दछु,’ मेयर सिंहद्वारा जारी ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ । तसर्थ सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध छ ।’मेयर सिंहले नेपालको अर्थतन्त्र चलायमान बनाउनेदेखि विभिन्न सामाजिक क्षेत्रमा समेत मारवाडी समुदायको उत्साहजनक सहभागिता रहेको बताउनुभएको छ । ‘औद्योगिकीकरण र व्यवसायिक लगानीमार्फत मुलुकमा रोजगारी सृजना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको कुरा सवैमा सर्वविदितै छ । त्यसका अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने अन्य क्षेत्रहरूमा पनि मारवाडी समुदायको उत्साहजनक सहभागिता रहँदै आएको छ ।’प्रसाईँ नेतृत्वको समूहले पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समुदायको अपमान गर्ने किसिमको अभिव्यक्ति दिँदै आएको भन्दै कारबाहीको लागि नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी समेत दिएको छ ।त्यस्तै उद्योगी तथा व्यावसायिकहरूको छाता सङ्गठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पनि शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै मारवाडी समुदायमाथि लक्षित दुर्गा प्रसाईँको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गरेको थियो ।

Leave a Reply