निजगढ – निजगढ नगरपालिकाले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ४० हजार ४४० रुपैया सहयोग गर्ने भएको छ ।
नगरपालिका नगरकार्यपालिकाको आज बसेको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषको रकम, जनप्रतिनिधि र कर्मचारीको मासिक तलब तथा भत्ता रकमसमेत गरी राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरप्रमुख सुरथ पुरीका अनुसार प्रधानमन्त्री राहत कोषमा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले १० दिन बराबरको भत्ताको रकम र कर्मचारीहरुको तहअनुसार २ दिनदेखि १० दिन बराबरको तलब जम्मा गरिने छ ।
गत भाद्र १० गते भोटेकोशीको बाढी लगत्तै नगर प्रमुख पुरीले शोक सन्देश निकालेर बाढीले पु¥याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि जिल्लाको कलैया उपमहानगरपालिकाले बाढी पीडितहरुको लागि प्रधानमन्त्री राहत कोषमा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाले ११ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्लाको महागढीमाई नगरपालिकाले पनि राहत कोषमा ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
















