कलैया,बारा जिल्लाको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलाको दोस्रो मुख्य दिन सोमवार श्रद्धालुले हजारौंको संख्यामा बोकाको बली चढाएका छन ।

नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन भाकल पूरा गर्न गढीमाई मेलामा आएर बोकाको बली दिएका हुन । सोमवार बिहानैदेखि बोका लिएर मेला परिसरमा आउने भक्तजनको ठूलो भीड लागेको छ। तर, ट्राफिक व्यवस्थापन फितलो भएका कारण भक्तजनले गन्तव्यसम्म पुग्न कठिनाइ भोग्नुपरेको छ ।वीरगञ्ज–कलैया–बरियारपुर सडकको बघवन खण्डमा ट्राफिक व्यवस्थापन केही राम्रो देखिए पनि पसाहा नदीको पुलदेखि मेलास्थलसम्मको सडकमा भने ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । यसक्रममा साना ठूला सवारी साधन बघवन चोकमा घण्टौंसम्म जाममा परेका थिए ।
पसाहा पुलमा सवारी साधनको अत्यधिक चापका कारण दिउसोसम्म पनि सयौँ भक्तजन अलपत्र परेका थिए ।

केहीश्रद्धालुहरु सडक छोडेर नदी पार गरी गढीमाई मन्दिरसम्म पुगेका थिए । शनिवार साँझदेखि नै पसाहा पुल क्षेत्रमा अत्याधिक भिडका कारण सर्वसाधारणलाई पैदल हिँड्नसमेत मुस्किल परेको थियो।मेलास्थल वरपर १५–२० किलोमिटर टाढासम्म सवारीसाधनको चाप देखिएको स्थानीय समाजसेवी हरिनारायण त्रिपाठीले जानकारी दिनुभयो । अत्याधिक भिडका कारण श्रद्धालुहरुले पसाहा नदी आसपास र गढीमाई नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा बोकाको बली चढाँएका थिए । मेलामा पसाहा र तियर नदीबीचको जुनसुकै क्षेत्रमा बली दिएपनि गढीमाईलाई चढाएको मानिने विश्वास रहेको त्रिपाठीले सुनाउनुभयो । यही विश्वासका कारण हजारौं भक्तजनले मन्दिरबाट टाढा पर्ने चारै दिशामा बोकाको बली दिएका थिए ।
गढीमाई मेलामा पशुबलीको पहिलो दिन आइतजार करिब ६ हजार राँगाको बली दिइएको थियो। मन्दिरका मूल पुजारी मंगल चौधरी र तान्त्रिक उमाशंकर कछाडियाको विशेष पूजापछि मन्दिर परिसरमा पशुबली शुरु भएको थियो। परम्पराअनुसार मूल तान्त्रिकले आफ्नो शरीरका पाँच स्थानको रगतसहित पञ्चबली दिएपछि मन्दिरमा पशुबली दिने प्रक्रिया प्रारम्भ हुने गरेको छ । तान्त्रिकले आफ्नो शरीरको रगत निकाल्ने कार्यलाई धार्मिक भाषामा ‘नर बली’ भनिने गरेकोछ।
विश्वकै ठूलो पशु बलिको रूपमा चर्चित गढीमाई मेला पाँच वर्षमा एकपटक आयोजना गरिन्छ। मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ। मेला आयोजक समितिका अनुसार यो वर्ष करिब तीन करोड दर्शनार्थीले मेलामा सहभागिता जनाउने अनुमान गरिएको छ।

गढीमाई मेलामा सहभागी हुने भक्तजनले पुत्रलाभ, रोगमुक्ति, दुर्घटनाबाट बच्न वा अन्य कठिन परिस्थितिमा देवीसँग भाकल गर्ने परम्परा रहेको छ । यसक्रममा परेवा उडाउने, बोका वा राँगाको बली चढाउने प्रचलन छ।

Leave a Reply