कलैया,बारा, पर्सा र रौतहट जिल्लाका दलित समुदायका अगुवाहरूले यसपटकको गढीमाई मेलामा बलि दिइने राँगाको (मासु) सिनो बहिष्कार गर्ने घोषणा गरेका छन्।सिनो बहिष्कार समिति बारा, पर्सा र रौतहटका प्रचार प्रमुख तेजनारायण रामका अनुसार दलित अगुवाहरूको बैठकले ‘सिनो बहिष्कार’ अभियानलाई थप प्रभावकारी बनाउन निर्णय गरेको हो।
समितिले अघिल्ला वर्षमा पनि यो अभियान संचालन गर्दैआएको भएपनि बारा, पर्सा र रौतहटका विभिन्न गाउँबाट आएका दलित समुदायका सर्वसाधारणले गढीमाईमा बलि दिइएका राँगाको मासु हारालुछ गरेर घर लैजाने गरेका थिए । उनीहरुले मोटरसाइकल, टेक्टर, साइकल र आफैले बोकेर मासु घरमा लाने गरेका हुन । मासु संकलन गरेर लैजाने क्रममा विवाद उत्पन्न हुँदा आपसमा झडप समेत हुने गरेको थियो । दलित समुदायमा बलि दिइएका राँगाको मासुलाई गढीमाई माताको ‘प्रसाद’ रुपमा घरमा लगेर खाने चलन छ ।
प्रचार प्रमुख रामले अघिल्ला केही मेलामा दलितहरूबाट सिनो लुट्ने कार्य भएको स्वीकारे पनि पछिल्लो समय यस्तो गतिविधिमा कमी आएको दाबी गर्नुभयो । उहाँले यसपटक अभियानलाई प्रभावकारी बनाउन तीन जिल्लाका दलित समुदायलाई श्रव्यदृश्य माध्यमबाट सचेत पार्ने प्रयास भइरहेको पनि बताउनुभयो । “सचेत र शिक्षित दलितहरूले अभियानलाई साथ दिनेछन ।” उहाँले दाबी गर्नुभयो । अभियान सफल पार्न समुदायमा जनचेतना अभिवृद्ध गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।
‘सिनो बहिष्कार’ अभियानका अभियान्ता एवंम भीम आर्मी नेपालका संयोजक सुनील रामले आफ्नो समुदायमा गढीमाईको सिनो बहिष्कार गर्ने बारेमा सकारात्मक परिवर्तनको प्रयास जारी रहेको उल्लेख गर्दै अभियानलाई प्रभावकारी तुल्याउन गढीमाई मेला व्यवस्थापन मूल समितिसँग छलफल भइरहेको पनि बताउनुभयो । “यस अघिका मेलाहरूमा जस्तै बलि दिइएका राँगाको मासु लैजान समितिले बलिस्थलमा लगाएको बासको घेराबार तोडेर सिनो उठाउने घटनाहरू यस पटक दोहरिन नदिने प्रयास गरिँदैछ, ।” उहाँले भन्नुभयो ।दलित महिला सङ्घ पर्साकी अध्यक्ष नीला रामले शिक्षाको अभावले बारा, पर्सा र रौतहट जिल्लाका चमार र दलित समुदायबाट गढीमाईको सिनो उठाउने कार्य हुने गरेको बताउनुभयो । उहाँले अव्यवस्थित र असुरक्षित रूपमा बली दिएको राँगाको छाला निकाले घर लैजाने र मासु उपभोग गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरका बारेमा जनचेतना फैलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
गढीमाई मेलामा बलि चढाइएका राँगाहरूको छाला र मासु व्यवस्थित रूपमा सङ्कलन गर्न नसकिएको अवस्थामा ठेकेदारहरू र मेला व्यवस्थापन समितिले अनियमितता गर्ने गरेको आरोप पनि लाग्दै आएको छ।
अघिल्लो पटक लागेको मेलामा साढे सात हजार र यसपटक ११ हजारभन्दा बढी राँगाको बलि दिइने अनुमान मेला समितिले गरेको छ । बलिको राँगाको छाला र मासुको उचित व्यवस्थापनको अभावमा मेलापछि गढीमाई मन्दिर परिसरमा दुग्न्ध र प्रदुषण फैलिने र जनस्वास्थ्यमा समेत असर पर्दैआएको छ ।
















