सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले गुठी अन्तर्गतका निजी जग्गाको मालपोत कर आफैले संकलन गर्ने जनाएको छ ।उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरलाई मंसिर १८ गते पत्र लेख्दै नगर क्षेत्रभित्रको यसअघि गुठी संस्थानको वीरगञ्जस्थित कार्यालयबाट संकलन हुँदै आएको मालपोत कर आर्थिक वर्ष २०८१-०८२ देखि उपमहानगरपालिकाको कार्यालयले संकलन गर्ने जनाउनुभएको हो ।
गुठी संस्थानले कार्तिक ४ गते उपमहानगरपालिको कार्यालयलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ को उपदफा (५) को (ग) मा गुठी अन्तर्गतका घर र जग्गामा स्थानीय सरकारले मालपोत कर लगाउन नपाउने व्यवस्था रहेको भन्दै मालपोत कर नउठाउन पत्र लेखेको थियो । सोही पत्रको जवाफमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ को उपदफा (५) को (ग) मा गुठी अन्तर्गतका जग्गामा सम्पति कर लगाउन नपाउने तर भूमिकर संकलन गर्न सकिने व्यवस्था भएकाले उपमहानगरपालिकाको कार्यालयले मालपोत कर संकलन गर्न लागेको बताउनुभयो ।

उहाँले उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ को दफा ३ र दशौं नगरसभाले पनि उपमहानगरपालिकाभित्रका निजी जग्गाको मालपोत कर लिने व्यवस्था गरेकाले उक्त मालपोत कर संकलन गर्न लागेको उल्लेख गर्नुभएको छ ।
यसअघि कार्तिक ४ गतेको मितिमा गुठी संस्थाले उपमहानगरपालिकाको नाममा गुठीको आम्दानी राजश्वमा मिसाउन नमिल्ले तथा गुठी संस्थान नाफारहित धार्मिक संस्था भएकोले गुठी संस्थानको हकमा कर तिर्न नपर्ने कानुनी व्यवस्था भएकोले गुठी संस्थान मातहतका गुठी सम्पदा र सम्पत्ती (जग्गा जमिन, मठ मन्दिर, चैत्य, गुम्बा, पार्टी, भवन संरचना आदि) को संरक्षण सम्वद्र्धनको साथै गुठी जग्गा जमिनहरुको मालपोत, कुलबाली आदि गुठी कार्यालयले नै असुल गर्ने हुँदा गुठी जग्गाको मालपोत असुली सम्बन्धको पालिकाको निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै पत्र लेखेको थियो ।

Leave a Reply