रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशनको बिहीवार उद्घाटन गरिएको छ । मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेसका मधेस प्रदेस समिति सभापती कृष्णप्रसाद यादवले चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको हो ।

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ को ५० प्रतिशत र चन्द्रपुर नगरपालिकाको ५० प्रतिशत लगानीमा रिफ्रेश सेन्टरसहितको चार्जिङ स्टेशन निर्माण भएको हो । दुई करोड ७२ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त चार्जिङ स्टेशन मधेस प्रदेशकै ठूलो र व्यवस्थित रहेको बताइएको छ ।

करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको चार्जिङ स्टेशनमा एकैपटक चार वटा चारपाङ्ग्रे र ११ वटा तीन पाङ्ग्रे गरेर १५ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिनेछ । एनके थापा कन्स्ट्रक्सन काठमाडौंले निर्माण गरेको उक्त चार्जिङ स्टेशनबाट हुने आम्दानी नगरपालिकाको आन्तरिक स्रोतमा जम्मा हुनेछ ।

चार्जिङ स्टेशनको सेवा उद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्ले, नगरपालिकाका जनप्रतिनिधिलगायत उपस्थित थिए । नगर प्रमुख काफ्लेले वातावरणमैत्री र कम खर्चिलो विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै चार्जिङ स्टेशन निर्माण गरिएको बताउनुभयो ।

Leave a Reply