नरेश गुप्ता

बरियारपुर,कांग्रेस बाराको जिल्ला कार्यसमिति निर्वाचनको क्रममा शनिबार भइरहेको मतदान स्थगित भएको छ । निर्वाचन समितिले निर्वाचन स्थगित गरेसंगै खसेको सबै पतपत्र रद्द हुने जनाएको छ ।

शनिवार बिहान करिब ८ बजेदेखि सुरु हुने भनिएको मतदान अबेर गरेर मध्यान्न १२ बजेपछि मात्रै प्रारम्भ भएको थियो । मतदान कार्य व्यवस्थित पार्न नसक्दा दिउसो पनि पटक पटक मतदान कार्य रोकिन पुगेको थियो । मतदान गर्ने समय छोटो भएको र मतदानको लागि लाईनलाई बसेकाहरुलाई व्यवस्थापन गर्न नसक्दा मतदान केन्द्र श्रीसिद्धेश्वर माध्यमिक विद्यालय परिशर अस्तव्यस्त बनेको थियो । व्यवस्थापन फितलो भएर मतदान कार्य समेत प्रभावित बनेपछि चुनाव स्थगित गर्नु परेको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभएको छ ।

भिडभाड र अस्तव्यस्तताका बीच केहि मतदाताले मतपत्र नियन्त्रणमा लिएर आफै मतदन गरेको पाइएको छ । मतदान कार्य पनि अमर्यादित बनेको पाइएपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुका साथै खसेको सबै मत रद्द गरेको छ । निर्वाचन स्थगित हुनुअघि १ हजार ६ सयभन्दा बढी मत खसिसकेको थियो । काँग्रेस बारामा कुल २ हजार ४ सय ८१ मतदाता रहेका छन् ।

निर्वाचन अधिकृत उप्रेतीका अनुसार अर्को चुनावको मिति आइतवार ११ः३० बजे बस्ने बैठकमा निर्णय गरिने जानकारी दिइएको छ । निर्वाचन स्थगित बनेपछि मतदातालाई मत दिन बारम्बार आउनु पर्ने र उम्मेदवारहरुलाई पनि आर्थिक बोझ थपिने देखिएको छ ।

यसैबीच सभापति पदका लागि भएको मतदान धाँधली भएपछि निर्वाचन प्रक्रिया स्थगन भएको बताइएको छ । क्षेत्र नम्बर २ र ४ का प्रतिनिधिहरुको नाममा असम्बन्धित व्यक्तिहरुले मतदान गर्न थालेपछि विवाद सुरु भएको जनाइएको छ । सो क्षेत्रका मतदाताहरुको नाममा पतपत्र नियन्त्रणमा लिएर उनीहरुले बन्दकोठामा एकपक्षीय रुपमा भोट हालेको पाइएपछि बिवाद थप बढेको थियो ।

मतदान अधिकृत सहित सुरक्षा निकायसंगको मिलिमतोमा जिल्ला सभापती पदका उम्मेदवार राजेश राय यादवको पक्षमा मतपत्र नियन्त्रणमा लिइ मतदन गरिएको पाइएपछि मतदान रोकिएको कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव राजेश भण्डारीले जानकारी दिनुभयो ।

सभापती पदमा नेता शम्भु बुढाथोकीको जित निश्चित प्राय देखेपछि यादव समर्थकले बिवाद खडा गर्दा मतदान प्रक्रिया रोकिएको उहाँले बताउनुभयो ।

यता कलैया सभापती पदका अर्का उम्मेदवार राजेश राय यादव पक्षले भने आफुले जित्ने निश्चित देखिएपछि बुढाथोकी पक्षले विवाद सृजना गरेर चुनावी प्रक्रिया स्थगन गराएको बताइको छ ।

जिल्ला कार्यसमितिको विभिन्न ८० पदको लागि २ सय ३२ जना चुनावी प्रतिस्पर्धामा छन । जिल्ला सभापती पदको लागि भने संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी तथा राजेशराय यादव र संस्थापनइतर पक्षबाट रामानन्द यादव चुनावी मैदानमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here