अनिल तिवारी
सिमरा – मालपोत कार्यालय सिमराले बारामा फर्जी कागज बनाएर हड्पेको करिब २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता गर्ने निर्णय गरेको छ । प्रद्युम्नराज पाण्डेले किर्ते पुर्जा बनाएर हकदावी गरेको बाराको साविक रामपुरटोकनी गाविस वडा नं २,३,४,९ र हाल जीतपुरसिमरा वडा नं २३ को २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता गर्ने गरी बिहिवार निर्णय गरेको हो ।
मालपोत कार्यालय सिमराले पौष २७ गते हकदावी लागि प्रमाण सहित पेश हुन ३५ सुचनाका प्रकाशन गरेको थियो । सुचना अवधीभर पाण्डेको पक्षवाट आधिकारीक प्रमाणहरु पेश नभएकोले सो जग्गा राज्यको नाममा फिर्ता गरिएको मालपोत कार्यालय सिमराले जनाएको छ । यसअघि २०६६ साल अशोज १ गते पनि मालपोत कार्यालयले सो जग्गा सार्वजनिक हो भनि निर्णय गरेको थियो तर सो निर्णय उपर पाण्डेले प्राकृतिक न्यायको सिद्धान्तको हवला पुन सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सर्वोच्चले मालपोतको निर्णय त्रुटिपुर्ण भएको भन्दै पुन निर्णय गर्न निर्देशन दियो ।
‘सर्वोच्च अदालतले नै पुरानो निर्णय त्रुटिपुर्ण भएकोले सम्वन्धित व्यक्तिलाई बुझेर प्रमाणका आधारमा पुन निर्णय गर्न भनेकोले त्यसै अनुसार हामीले ३५ दिने सार्वजनिक सुचना जारी गरी व्यक्तिलाई समेत बुझि, व्यक्तिवाट आएको निवेदनमा दावी गरेको प्रमाणका आधारमा सो जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने देखिदां मुलुकी देवानी संहिता ऐन २०७४ र मालपोत ऐन २०३४ को दफाहरु प्रयोग गरेर सो जग्गा राज्यको नाममा फिर्ता गर्ने निर्णय गरेका हौ’ मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जानकारी दिनुभयो ।
पाण्डेले श्रेस्तामा पर्ति भनि उल्लेख भएको कित्ता नं ३३ को ९ का, कित्ता नं ६१ को पर्ति १ बिगाहा १७ का, कित्ता नं १४१ को फिल्डबुकमा नहर भनि उल्लेख भएको ३ बिगाहा १० का कित्ता नं १२ को पर्ती भनि उल्लेख भएको १४ का,कित्ता नं ३९२ को बगर भनि उल्लेख भएको २ बिगाहा ४ का १० धुर, कित्ता २४३ को बगर भनि उल्लेख भएको १२ का, कित्ता नं १ कोआवादगर्न लायक ३ बिगाहा १५ का, कित्ता नं २ को पनि आवाद गर्न लायक २ बिगाहा, कित्ता नं १० र ११ को आवाद गर्न लायक १० का र ६ का, कित्ता नं १७, १८ र २० को परती भनि उल्लेख भएको कम्रशं १ बिगाहा, ४ का र २ बिगाहा २ का सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएका थिए । फिल्डबुकमा प्रति, खोला, बगर, ऐलानी भनि उल्लेख भएको सार्वजनिक जग्गा पाण्डेले किर्ते पुर्जा बनाएर निजी व्यवसायीहरुलाई समेत भाडामा भोगचलन गर्न दिएका छन् ।