निजगढ,अन्य क्षेत्रमा काम तीव्र हुदैआएको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (निजगढ– काठमाण्डौं फास्ट ट्र्याक) अन्तर्गत खोकना खण्डमा देखिएको समस्या समाधान नहुँदा सो क्षेत्रकोअहिलेसम्म पनि कामअघि बढन सकेको छैन ।मुअब्जालगायतको माग राखेर स्थानीयले अवरोध गरेपछि उक्त क्षेत्रमा कामअघि बढन नसकेको हो । ललितपुरस्थित खोकना क्षेत्रको ६.५ किमिमा काम सुरु हुन नसकेपछि थपिएको समयमा पनि फास्ट ट्र्याकको निर्माण नसकिने भएको छ ।
सो क्षेत्रमा देखिएको विवादपछि सरकारले द्रुतमार्गका लागि सुरु बिन्दु खोकनाको विकल्पको बारेमा पनि अध्ययन अघि बढाएको छ । ०८० चैत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले गरेको अध्ययनमा फास्ट ट्र्याकका लागि उपयुक्त सुरु बिन्दु खोकना भएको र अर्को विकल्प सिकालीघाट क्षेत्रमा नपर्ने गरी वाग्मती नदीमाथि भियाडक्ट (पुल) बनाएर काम गर्न सकिनेछ जनाइएको छ । तर यसका लागि वाग्मती नदीको दायाँ किनारामा नयाँ जग्गा अधिग्रहण गर्नुपर्ने र सामाजिक तथा सांस्कृतिकसंगै जग्गा मुअब्जाको समस्या पनि आउनसक्ने अध्ययनले औंल्याएको छ ।

त्यस्तै, बुङ्मतीलाई नै सुरु बिन्दु बनाएर वाग्मती नदी करिडोर वारिपारि दुई–दुई लेन सडक बनाउन सकिने पनि अध्ययनमा भनिएको छ । तर ३ विकल्प मध्ये कुन अपनाउने भन्नेमा सरकारले अझै कुनै निर्णय गर्नसकेको छैन ।
०८० वैशाख ५ को मन्त्रिपरिषद्को निर्णयबमोजिम तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा खोकना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान समिति गठन भएको थियो । त्यसपछि मन्त्रालयकै कर्मचारीको संयोजकत्वमा उपसमिति बनाइए पनि अहिलेसम्म सो क्षेत्रको समस्या समाधान हुन सकेको छैन, जसका कारण निर्धारित समयमा आयोजना पुरा हुननसक्ने देखिएकोछ ।

सिकाली मन्दिर र पुरातात्त्विक सम्पदा क्षेत्रलाई संरक्षण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको र केहीलाई मुअब्जासमेत दिइसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताउनुभएको छ ।रेखांकन परिवर्तन गरेर अन्यत्र सुरु बिन्दु बनाउँदा लागत बढ्ने र प्रक्रिया पनि नयाँ थाल्नुपर्नेसेनाले बताएको छ । ठेक्का भएको खण्डमा अहिले सुरुङ र पुल निर्माण भइरहेको छ ।०७४ जेठदेखि सेनाले फास्ट ट्र्याकको निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३६.४२ प्रतिशत मात्रै छ । फास्ट ट्र्याक निर्माण सुरु भएको ७ वर्षमा अहिलेसम्म ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र निर्माणको ठेक्का भएको छ ।

Leave a Reply