कुनै समय गाँजा लगाउने जिल्लाका रुपमा बारा र पर्सा बद्नाम थिए । गाँजाको पैसा सबैले खाने भए पनि दोष भने गाँजा उत्पादन गर्ने कृषकहरुले पाउने गर्दथे । त्यसो त आर्थिक रुपमा हेर्ने हो भने चैं गाँजा उत्पादनले यस क्षेत्रका नागरिकहरुलाई राम्रो कमाइ पनि भएको थियो । बिश्वका कयौं देशमा गाँजा उत्पादनमा प्रतिबन्ध नभए पनि नेपालमा भने यसको उत्पादन र बिक्री वितरण दुबैमा बन्देज छ । अझै केही त यही गाँजा बिक्री गरेको आरोपमा कारागारमा समेत छन् । केही वर्ष अगाडिदेखि बारा र पर्सामा गाँजाको उत्पादन हुन छाडेको थियो । कृषकहरु गाँजाको विकल्पतिर लागेका थिए । स्थानीय प्रशासनले कडाइ गरेपछि गाँजाको उत्पादनमा कृषकहरुको रुची घट्यो र उनीहरु विकल्पतिर लागे । तर, विकल्प खेतीको रुपमा कृषकले भने जस्तो चैं केही हुन सकेन । कृषकहरुले तरकारी उत्पादन गरे, भारतीय तरकारीको निर्वाध आयतले गर्दा नेपाली किसानहरु कौडीको भाउमा तरकारी बिक्री गर्न बाध्य भएका थिए । किसानहरुले गँजाको सट्टामा उखु लगाए । तर चिनी मिलका मालिकहरुको मनोमानीले उनीहरुले पाकेको उखु समयमै बिक्री पाएनन । अलिअली बिक्री भएको उखुको भुक्तानी लिन पनि किसानलाई महाभारत नै पर्यो । उखु खेती त झन बारा र पर्साका किसानको लागि भालुको कन्पर्ट जस्तै साबित भयो । अहिले फेरि बारा र पर्साका केही स्थानमा गाँजा खेती भइरहेको कुरा बाहिर आएको छ । नेपालमा गाँजाको बिक्री वितरणमा सरकारले रोक लगाएको थाहा पाएर पनि कृषकहरु गाँजा रोप्न बाध्य छन् । कृषकलाई विकल्प नदिइकन केवल गाँजाको विरोध गर्नुको अर्थ छैन । त्यसैले बरु गाँजाको व्यवसायिक खेती शुरु गर्नका लागि कानुन संशोधन गर्नेतर्फ सरकारले ध्यान दिने पो हो कि ?
















