कलैया,नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गढीमाई मन्दिरको दर्शन र मेलाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।मंगलवार दिउसो १२ बजे शहरी विकाशमन्त्री सिंहले बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाईको दर्शन गर्नुको साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
मन्त्री सिंहलाई गढीमाई मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले मेला व्यवस्थापन र समस्याबारे मन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा नगरप्रमुख यादवले गढीमाई मेलालाई भव्य र सभ्य बनाउन संघीय मन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीहरुसमेत आएर मेलाको अवलोकन तथा निरीक्षण गर्नु खुसी र गर्भको कुरा भएको बताउनुभयो ।

गढीमाई मन्दिरको दर्शन र मेलाको अवलोकन गर्न आइपुग्नुभएका शहरी विकाशमन्त्री सिंहले मेलाले नेपाललाई विश्वमै परिचित गराएको बताउदै यसको संरक्षण र संवद्र्धनको लागि सरकार गम्भीर रहेको सुनाउनुभयो ।‘मधेस प्रदेशको मात्र नभएर नेपाल र विश्वकै ठूलो धार्मिक स्थल हो, उहाँले भन्नुभयो, नेपालको पहिचान विश्व सामु फैलाउने सम्पदाको संरक्षणमा सरकारको पर्याप्त ध्यान जान जरुरी छ ।’ उहाँले गढीमाईको दर्शन गर्नाले मनोकामना पूरा हुने भएकोले आफू पनि दर्शनको लागि आएको बताउनुभयो ।

प्रत्येक पाँच पाँच वर्षमा लाग्नेगढीमाई मेलामा यस वर्ष मंसिर १ गतेबाट शुरु भएको र आगामी २३ र २४ गते पशुबलि दिने कार्यक्रम तय भएको मेला समितिले जनाएको छ । पशुबलिको तिथि नजिकिदै गएपछि गढीमाईको अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो पनि बढ्न थालेको छ ।

Leave a Reply