पुष्पराज खतिवडा
बारा,गढीमाई मेलाको अवसरमा बाराका पालिकाहरुले ४ दिनसम्मसार्वजनिक बिदा दिने भएका छन् ।गत मंसिर २ गते जिल्ला समन्वय समितिको कार्यालय कलैयामा जिल्लाका १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकबाट मेलाको मुख्य दिन मंसिर २१ देखि २४ गतेसम्म बिदा दिन अनुरोध गर्ने निर्णय गरेका हुन ।
बैठकमा जिल्लाका सबै पालिकाले मेला व्यवस्थापनमा आवश्यक सहयोग गर्ने सहमति समेत भएको मेला व्यवस्थापन मुल समितिले जनाएको छ ।

सोही बैठकको निर्णयअनुसार जिल्लाको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका, बारागढीलगायत विभिन्न पालिकाले सूचना निकालेर स्थानीय बिदाबाट मिलाउने गरी सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा अत्यावश्यक काम बाहेक मंसिर २१ गतेदेखि २४ गतेसम्म कार्यालयको सेवा बन्द रहने उल्लेख छ । सूचनामा पालिका मातहतका सबै वडा कार्यालय, सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघ संस्थाहरु, बैंक तथा बित्तीय संस्थाहरुमा स्थानीय चाडपर्व बिदा अन्तर्गत विदा दिइएको जनाइएको छ ।

मेला अवलोकनको लागि जिल्लावासीलाई सहज बनाउने उद्देश्यले पालिकाहरुले ४ देखि ५ दिनसम्म स्थानीय चाडपर्व विदा अन्तर्गत विदाको सूचना गरेको महागढीमाई नगरपालिकाका प्रमुख एवंम मेला व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँले गढीमाई मेलालाई स्थानीय चाडपर्व र महोत्सवको रुपमा मनाउन पालिकाहरुमा बिदा दिन अनुरोध गरिएको र सोहीअनुसार निर्णय भएको जानकारी दिनुभयो ।मंसिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गतेसम्म लाग्ने छ । शनिवारदेखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो बढेको छ ।
उपराष्ट्रपती यादवद्वारा गढीमाई मेला उद्घाटन
कलैया,उपराष्ट्रपति रामसहाय यादवले सोमवार एक विशेष कार्यक्रमबीच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गर्नुभएको छ ।उपराष्ट्रपति यादवले सोमवार बिहान साढे १० बजे गढीमाई मन्दिरको दर्शनसंगै मेलाको उद्धाटन पनि गर्नुभएको थियो ।

सो अवसरमा मन्दिरका मुल पूजारी मंगल चौधरीको हातबाट उपराष्ट्रपती यादवले टिकाप्रसाद समेत ग्रहण गर्नुभएको थियो । उपराष्ट्रपती यादव आफ्नो गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षणसमेत गर्नुभएको थियो ।
प्रत्येक पाँच÷पाँच वर्षमा लाग्ने गढीमाई मेला मेलाको मुख्य आकर्षणको रुपमा रहेको ‘विशेष पूजा’ भने मङ्सिर २३ गते शनिवारको लागि तय भएको छ । तान्त्रिक विधि अनुसार दुखन धामी कछडियाले मूल पुजारी मङ्गल चौधरीसँग मिलेर आफ्नो अङ्गको पाँच ठाउँबाट रगत र पञ्चबलिको रूपमा सेतो मुसा, परेवा, हाँस, सुगङुर र राँगाको बलि दिएपछि सर्वसाधारणको लागि पनि बलि खुल्ला हुनेछ । मन्दिरमा श्रद्धालुहरुले आफ्नो भाकल अनुरूपको बलि चढाउने छन् ।
यस्तै, मङ्सिर २४ गते सानोबलिको रूपमा बोका, परेवा, हाँस र कुखुराको बलि चढाइने छ । सानोबलिका लागि स्थान नतोकिएकोले गढीमाईको सीमाना मानिएकोपसहा खोलापारि पुगेपछि पायक पर्ने ठाउँमा श्रद्धालुहरुले बलि चढाउन सक्नेछन ।त्यसैगरी मंसिर २५ गते भने मन्दिर परिसरमा परेवा उडाउने कार्यतालिका रहेको छ मेला समितिले जनाएको छ ।

Leave a Reply