जनकपुरधाम,बाराको महागढीमाई नगरपालिका बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला र साताव्यापी मनाइने सिताराम विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गरी जनकपुरधाममा बिहीवार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।मधेस प्रदेशका गृह, सञ्चार तथा कानु नमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा बारा जिल्लाको गढीमाई मेला र सिताराम विवाहपञ्चमी महोत्सवको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भएको थियो ।

बैठकमा स्थानीय प्रशासनले गरेको सुरक्षा व्यवस्था र योजना, मेला भर्न आउने श्रद्धालुको भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, निगरानी तथा सञ्चार प्रणाली, सरोकारवालासँगको समन्वय लगायतको विषयमा विगतका अनुभवको समीक्षा तथा भावी कार्ययोजनाको विषयमा छलफल भएको थियो ।
बैठकको अध्यक्षता गर्नुभएका गृह, सञ्चार तथा कानु नमन्त्री लेखीले कार्ययोजनामाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षाका चार अङ्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
बैठकमा सुरक्षा अधिकारीले गढीमाई मेलामा सुरक्षाका तीन घेरा रहने जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने जानकारी गृहमन्त्रीलाई गराउनुभएको थियो ।साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सवमा मात्रै १४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेसका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान मधेस प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, मधेस प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, प्रहरी उपरीक्षक ईश्वर थापासहितका उच्च सुरक्षा अधिकारीको सहभागिता थियो ।
















