नेपालमा मनसुन भित्रने समयमा र बाहिरनेक्रममा हरेक वर्षजस्तो मानवीय र भौतिक क्षति हुने गर्दछ । संधै त यस्तो नहोला तैपनि कुनै कुनै वर्ष भने यस्तो हुने गरेको छ र यसपाली पनि यही भएको छ ।
गत असारको पहिलो साता भित्रिएको मनसुन अब फर्कने क्रममा रहँदा असोज महिनाको लगभग मध्य समयमा देशभर बितण्डा मच्चाएको छ । गत बिहीवारबाट परेको अविरल वर्षाले असर नगरेको स्थानहरु कमै छन् । मधेसकै कुरा गर्ने हो भनेपनि यहाँको राजधानी जनकपुर न त अछुतो रहन सक्यो नत वीरगञ्ज वा कलैया जस्ता शहरहरु नै ।
यसो हुनुमा सबै दोष सरकारको त नहोला तर पनि यसको जिम्मेवारी फेरि सरकारकै काँधमा जान्छ । मधेसमा डुबानको अधिक समस्या अधिक देखियो भने पहाडमा बाढी र पहिरोको समस्या देखिएको छ । यो नौलो पनि होइन र यसपाली मात्र देखिएको पनि होइन । दुई महिनाअगाडि आएको यस्तै बर्षाका कारण नारायणीमा खसेको बसका कयौंको अवस्था अझै अज्ञात छ भने दुईवटा बसको अत्तोपत्तो छैन ।
यही घटनाले पनि नेपालको विपद्को संयन्त्रको त उदाहरण दिएकै हो तैपनि प्रदेश र स्थानीय निकायमा पनि संयन्त्र एकदम कमजोर देखिएको छ । विपद् आएपछि उद्वारमा नै समस्या देखिएको छ।यसैमा सरकारहरु चुकेका छन् । आफूसंग भएका साधन श्रोतको प्रयोग गरेर भएपनि वा खोजेर नै भएपनि संयन्त्रहरु बलियो बनाउनु पर्ने थियो तर तर देखिएन । यो विषयमा अब सरकारहरु गम्भीर भएर बजेट अझै बढी यसमा खर्चिने कि ?