पुष्पराज खतिवडा,नरेश गुप्ता

मनहर्वा, बरियारपुर

जिल्ला प्रशासन कार्यालय बाराले सोमबारबाट लागु हुने गरी जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाएको छ । कोरोनाको संक्रमण दरमा निरन्तर सुधार भएको भन्दै आइतबार राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा खुकुलो बनाइएको हो ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सबै किसिमको व्यवसाय बिहान ६ बजेदेखि दिउसोको ३ बजेसम्म संचालन गर्न सकिने निर्णय गरेको हो । स्वास्थ्यको मापडण्ड पालना गरि व्यवसाय संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार असार ८ गतेबाट सरकारी कार्यालय समेत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि समय र दिन तोकेर संचालन गरिने उल्लेख गरिएको छ । साथै निजी सवारी जोर बिजोर प्रणालिमा संचालन गर्न सकिने जनाइएको छ ।

यसअघिको निषेधाज्ञामा खद्यान्न समानको पसल मात्र संचालन गर्न अनुमति दिइएको थियो । सोमबारबाट भने संसोधित निषेधाज्ञाकाबीच स्वास्थ्य मापदण्ड पालना गर्दै सबै किसिमका व्यवसाय संचालन गर्न छुट दिइएको छ ।

स्कुल र सार्वजनिक यातायात संचालनमा लगाइएको रोक भने यथावत रहेको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बारा जिल्लामा गत चैत्र पहिलो साताबाट निषेधाज्ञा लागू गरिएको थियो ।पर्सामा पनि खुकुलो

वीरगन्ज,पर्सामा जारी निषेधाज्ञा पसल तथा बजार खोल्न दिने गरी असार १३ गते सम्मका लागि थप गरिएको छ । आइतबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म पसल तथा बजार खोल्न दिने गरी निषेधाज्ञा असार १३ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । यसअघि पछिल्लोपटक जेठ ३१ देखि असार ६ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा भने मध्यान्ह १२ बजेसम्म खाद्यान्न र कृषिजन्य पसलहरु मात्र खोल्न दिइएको थियो । तर असार ७ देखि १३ सम्म थप एक साताका लाथि थपिएको निषेधाज्ञामा भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सबै किसिमका पसल र बजार खोल्न दिने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । यसका साथै डिसिसिएमसीको बैठकले जिल्लामा रहेका सबै सरकारी, सार्वजनिक र नीजी कार्यालय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर र स्थानीय तह अनुसार आलोपालो मिलाइ भीडभाड नहुने गरी असार ७ गतेदेखि खोल्न दिने निर्णय पनि गरेको छ । बैठकले सार्वजनिक यातयातका सवारीसाधन भने संचालन गर्न नपाइने तथा निजी मोटरसाइकल भने चल्न दिने निर्णय गरेको छ । असार १३ गतेसम्म विद्यालय, क्याम्पस, ट्युसन, कोचिङ सेन्टर, होटल, लज, रेष्टुरेण्ट, पार्टी प्यालेस, सिनेमा हल, सैलून, जिमखाना, ब्यटी पार्लर, सपिङ मलका साथै गोष्ठी, सेमीनार, तालिम, सम्मेलन, सभा संचालनमा नआउने निर्णय गरिएको पनि प्रजिअ घिमिरेले जानकारी दिनुभयो । विकास निर्माण र आयोजनाका कामहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी गर्न÷गराउन पाइने उहाँले जानकारी दिनुभयो । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक जेठ ३० गते बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा असार ६ गते आइतबार राति १२ बजेसम्मका लागि थपेको थियो । संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा उपयोगी देखिएको र संक्रमण दर पनि घट्दै गएकाले केहि परिमार्जन सहित असार १३ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । दोस्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्ला कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुँदै गएको छ । बैशाख अन्तिम सातादेखि निरन्तर घट्दै गएको संक्रमण दर असार पहिलो सातामा ७ प्रतिशतमा झरेको छ । दोस्रो लहर सुरु भएपछि वीरगन्जमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर ह्वात्तै बढेर ७० प्रतिशतभन्दा माथि पुगेको थियो । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रमितको संख्या घट्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here