पुष्पराज खतिवडा
बारा,बाराको कलैयास्थित रामराराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख हरिभुषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ्ग जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका ४१ वर्षिय कुशवाहालाई बारा प्रहरीले बिहीवार विहान पत्रकार सम्मेलनमार्फत सार्वजिक गरेको हो ।
प्रहरीकाअनुसार मुख्य अभियुक्त कुशवाहा लामो समयसम्म भारत र नेपालका विभिन्न स्थानमा लुकेर बस्दैआएका थिए ।प्रहरीले घटनामा प्रयोग गरिएका दुई थान पिस्तोल, सात राउन्ड गोली, चार थान मोटरसाइकल, चार थान मोबाइल, दुई थान ल्यापटप र मोबाइलको सात थान सिमकार्ड बरामद गरेको जनाइएको छ ।मोरङ जिल्लामा लुकेर बसेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
कुशवाहाविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ पुरा भएको बारा प्रहरीले जनाएको छ । मुख्य अभियुक्त कुशवाहाको पक्राउपछि सो घटनाको थप अनुसन्धानमा सहयोग पुग्ने विश्वास प्रहरीको छ ।
गत जेठ ३२ गते साँझ बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट मोटरसाइकलमा कलैयातर्फ आउँदै गरेको अवस्थामा हरिभुषण कुशवाहाको बीच सडकमा नै गोली हानी हत्या गरिएको थियो । सो प्रहरीले सो घटनामा कुशवाहासहित १७ जनाको समूह संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई तत्कालै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । उनीहरु मध्ये २ जना धरौटीमा रिहा भएका थिए भने ८ जना कारागार चलान भएका थिए । घटनामा संलग्न भनिएका चन्द्रमणीप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई तत्काल कारबाही थालिएको थियो ।जसमध्ये राधेसकुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन् भने अन्य ८ जनालाई वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।