कलैया,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा रहेको सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठुलो रकम हिनामिना भएको छ । सहकारी सहायक प्रवन्धक मुक्तार भनिने तेजनारायणप्रसाद महतोले संस्थाको ४० लाख भन्दाबढी रकम अनियमितता गरेको सहकारीका अधिकारीहरुले बताएका छन् ।
सदस्यहरुले संस्थामा फिर्ता गरेको ऋणबापतको रकमलाई सफ्टेवर सिस्टममा गलत विधि अपनाएर महतोले लामो समयदेखि रकम अपचलन गरेको पाइएको संस्थाका संचालक राजन पौडेलले बताउनुभयो ।
विगत ९ वर्ष अघिबाट संस्थामा अनियमितता हुँदै आएको देखिए पनि पछिल्लो दुई वर्षमा अधिक रकम अपचलन गरेको पाइएको छानबिनबाट देखिएको हो । संस्थाको रकम अनियमित भएको पुष्टि भएपछि महतोलाई आन्तरिक कारबाहीमार्फत रकम असुलीको प्रकृया जारी रहेको पौडेलले बताउनुभएको छ ।
ठुलो रकम अनियमिता भएपनि संस्थाले हालसम्म महतोमाथि कुनै किसिमको लिखित तथा कानुनी कारबाही प्रकृया सुरु गरेको छैन । सहकारीले आफना ९ सय सदस्यकाबीच बार्षिक करिब सवा सात करोडको कारोबार गर्दै आएको छ । संस्थामा यो भन्दा पनि धेरै रकम अनियमिता भएको अनुमान सदस्यहरुको छ ।
संस्थाका सदस्यहरुलाई समेत जानकारी नदिई अनियमिता गर्ने कर्मचारीलाई केही व्यक्तिबाट संरक्षण गरिनु दुःखद् भएको संस्थाका सदस्य दिपक शर्माले बताउनुभयो । ‘सदस्यको पसिनामाथि खेलवाड गर्ने छुट कसैलाई छैन, उहाँले भन्नुभयो, वास्तविकता छानविन गरी दोषिसंग बिगो र सोही बराबर जरिवाना समेत असुल गरिनु पर्छ ।’
संस्थाका अध्यक्ष हुतराज ढुङ्गानाका अनुसार महतोले लामो समयबाट आर्थिक अनियमिता गरेको प्रमाण भेटिएपछि आन्तरिक रुपमा त्यसको छानविन भैरहेको बताउनुभयो । विगत दुई वर्ष अघिबाट अध्यक्ष ढुङ्गानाको प्रत्यक्ष रेखदेखमा संस्था संचालनमा थियो । आफु घटनामा संलग्न नभएको उहाँको दावी छ । तर अन्य ककस्को संलग्नता छ भनेर अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
यता अनियमितामा संलग्न कर्मचारी महतोेले आफुबाट आर्थिक अपचलन भएको स्वीकार गरेका छन् । आफुले संस्थाको पाँच÷सात लाख रकम मासेको भएपनि धेरै रकम देखाइएको उनको भनाइ छ ।
आफु नभएका बेला संस्थाका प्रवन्धक कृष्ण बुढाथोकी लगायतका अन्य कर्मचारीलेसमेत आफ्नै आईडी प्रयोग गरी कारोबार गर्ने गरेको उनले बताए । यद्यपि नैतिक रुपमा सबै रकमको जिम्मा आफुले लिने उनले बताएका छन । ‘केही दिनभित्र संस्थाले तोकेको पुरै रकम तिर्छु ।’ महतोले सुनाए ।
सहकारी संस्थामा अर्थिक अनियमिता भएको यो पहिलो घटना भने होइन । ५ वर्षअघि पनि संस्थाका प्रवन्धक कृष्ण बुढाथोकीले करिब १२ लाख रकम अनियमिता गर्दा उनको सेवा सुविधा वृद्धि गरी भित्रभित्रै रकम असुल गरिएको थियो । ‘उक्त घटनामा अनियमित गर्नेलाई कडा कारबाही गरेको भए यो घटना दोहरिने मौका आउँदैन थियो, संचालक समितिका पूर्व अध्यक्ष ध्रुव सिग्देलले बताउनुभयो ।