नेपाल कृषि प्रधान देश हो भन्ने गरिन्छ र नेपालका अझै पनि करिब ७० प्रतिशत नागरिक कृषिमा आश्रित छन् ।
तर देशमा खाद्यान्नको अवस्था हेर्ने हो भने चालू आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सारबाट मात्र धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयातले नेपाल खाद्यान्नमा परनिर्भर रहेको स्पष्ट हुन्छ । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको हो ।
साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ रुपैयाँ बराबरको धान आयात भएको थियो । चालू आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।
गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
यसरी हेर्दा नेपाल खाद्यान्नमा लामो समयदेखि परनिर्भर हुदैआएको छ । यो तथ्यांकले पनि यही कुराको पुष्टी गर्दछ । यो डरलाग्दो संकेत पनि हो । अहिलेको पुस्ता कृषिमा रहदासम्म त यो अवस्था छ भावी पुस्ता त झन् कृषि कर्ममा लाग्न नै चाहदैन अनि नेपाल त कृषिमा अझै परनिर्भर बन्ने जाने देखिन्छ । जुन कुनै पनि दृष्टिकोणले राम्रो होइन ।