निजगढ,बाराको अमलेखगंजमा हत्या गरिएका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा पक्राउ परेका १ महिलासहित ४ जनालाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत बाराका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलवार निजगढ वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला अदालत बाराको फागुन १७ गतेको निर्णयबाट उनीहरु सबै पुर्पक्षको लागि वीरगन्ज कारागारमा थिए ।

२०७७ साल असार २१ अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता बनेका लालध्वजको २०७७ असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । लालध्वजको शव सडेर गलेको र हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएको अवस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमान लामाले दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । हत्या नैं भएको आशंकामा आफन्त र छिमेकीले घटनामा संलग्न दोषीको पहिचानगरि कडा कारबाही गर्न मागगर्दै आएका थिए ।

हत्या घटनामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई घटना भएको एक साताभित्र नैं पक्राउ गरि अनुसन्धान थालेको थियो । प्रहरीले घटनामा संलग्न भएको जनाउदै उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धि कसुरमा मद्दा दायर गरेको थियो ।

Leave a Reply