वीरगञ्ज,पर्साको ठोरी गाउँपालिकामा हिंस्रक बन्दै आएको नरभक्षी पाटेबाघलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।बाघलाई शनिवार बिहान करिव १० बजे ठोरी– ५ बाघमोर्चा छघरे नजिक खोल्साबाट नियन्त्रणमा लिइएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले जानकारी दिनुभयो । गत भदौ १३ गते उक्त बाघको आक्रमणबाट स्थानीय ४५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो । गोठको गोरुलाई आक्रमण गर्न थालेपछि बाघलाई भगाउन भनेर गएका दोङ्गलाई उल्टै बाघले अक्रमण गरेको थियो । दोङ्ग गोरुलाई पानी दिन भनेर जंगल छेउको गोठमा गएका हुन ।यसअघि पनि सोही बाघले किसानले पालेका चौपायलाई आक्रमण गरेर मार्न थालेपछि स्थानीय आतङ्कित बन्दै आएका थिए ।बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकोमा शनिवार डार्ट गरेर आरक्षाको सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिइएको ठोरी– ५ का वडा अध्यक्ष अष्टबहादुर लोपचनले जानकारी दिनुभयो ।बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो भने सुनाखरी मध्यवर्ती उपभोक्ता समिति र स्थानीयले पनि सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here