पुष्पराज खतिवडा
मनहर्वा,महिलाको आर्थिक क्षमता विकासका लागि सीप सिकाउने उदेश्यले खरिद गरिएका ३७ थान सिलाई मेसिन तीन वर्षदेखि कलैया उपमहानगरपालिकाको गोदाममा नै अलपत्र अवस्थामा थन्किएको छ ।
गरिबसँग विषेश्वर कार्यक्रम र कलैया उपमहानगरपालिकाले करिब ३ लाख मुल्यमा खरिद गरेको सिलाई मेसिन सोही पालिकाको वडा नम्बर १६ को वडा कार्यालय मझौलियामा लामो समयदेखि त्यसै थन्किएका हुन् । मेसिन प्रयोगमा आउन नसक्दा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्दा पनि नगरपालिका र वडा कार्यालयले चासो नदिएको स्थानीयले बताएका छन् ।
महिलाहरुमा सिप विकास गर्ने उदेश्यका साथ मेसिन खरिद गरेको भएपनि तालिम संचालन गर्ने वातावरण नबन्दा मेसिन थन्किएको गरिवसँग विषेश्वर कार्यक्रमका स्थानीय सहजकर्ता रामएकवाल रामले बताउनुभयो । कार्यक्रमको एकलाख र वडा कार्यालयको २ लाख गरी ३ लाख रुपैंयामा खरिद गरिएका ३७ थान सिलाई मेसिन किनेर एक सय महिलालाई तालिम दिने योजना थियो । ‘वडा अध्यक्ष शेषनाथप्रसाद साहले समयमा निर्णय नदिँदा तालिम सुरु गर्न सकिएन, उहाँले भन्नुभयो, पछि कोरोना भाईरसको महामारीका कारण लकडान सुरु भयो । त्यसपछि त कार्यक्रम संचालन गर्न झनै गारो भया, मेसिन थन्किए ।’ उहाँले सुनाउनुभयो ।
वडा कार्यालयले महिलाहरुको आर्थिक क्षमता विकासका लागि सिलाई कटाई तालिम संचालन गर्ने भनी आर्थिक वर्ष २०७५÷०६७ को बजेटबाट सोही असारमा २५ थान मेशिन किनेको हो । तर सिलाई मेसिन प्रयोग गर्ने बारे कुनै योजना नबनेका कारण मेसिन थन्किएको वडा सचिव नरोत्तम् अधिकारीले बताउनुभयो । ‘वडा कार्यालयमा मेसिन थन्किएका छन्, खियाले काम नलाग्ने बनाईसक्यो, उहााले भन्नुभयो, पटकपटक यसको प्रयोग गर्ने विषयमा कुरा राखे पनि वडा अध्यक्ष साहलगायतका जनप्रतिनिधिहरुबाटै चासो आएको छैन ।’
तालिम संचालन गर्न भनेर खरिद गरिएका समानहरुको उचित प्रयोग वा वितरण सम्बन्धमा नगरपालिकाले समेत चासो नदेखाएको बताइएको छ । सीपमुलक कार्यक्रम संचालन गर्ने विषयमा जनप्रनिधिहरु समेतले चासो नदिँदा समस्या भएको स्थानीय प्रेम महराले बताउनुभयो ।