निजगढ,प्रतिनिधि सभाका सभामुुख देवराज घिमिरेले शिक्षा क्षेत्रमा सुधार गर्न पर्याप्त ऐन र कानुन बन्न नसकेको बताउनुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्तिको अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै सभामुख घिमिरेले बुधवार सो कुरा बताउनुभएको हो ।‘
परिवर्तित सन्दर्भमा देशमा आवश्यक पर्ने ऐन कानुन अझै पनि बन्न सकेका छैनन, सभामुख घिमिरेले भन्नुभयो, बनाइएका ऐन कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको छैन ।’ उहाँले र बनेको कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वन गर्न र बाँकी कानुन बनाउने कार्यमा पनि शिक्षा क्षेत्रमा अनुभव भएका सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।परिवर्तित सन्दर्भमा आवश्यक गुणस्तरीय, व्यवहारिक, रोजगारीमूलक र असल नागरिक निर्माण गर्ने खालको शिक्षा आवश्यक भएको बताउदै उहाँले सो कार्यको लागि गौरीशंकर माविको स्वर्ण महोत्सवले सहयोग गर्ने पनि सभामुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको थियो ।
सभामुुख घिमिरेले समाज परिवर्तन र विकासको लागि समाजमा बस्ने मानिसहरुले योगदान गर्नुपर्ने बताउनुभएको छ । ‘समाजमा रुपान्तरण र परिवर्तनहरु भइरहेका हुन्छन, उहाँले भन्नुभयो, तर यसमा कोही न कोहीको योगदान अपरिहार्य हुन्छ ।’ विद्यालयलाई आजको यो अवस्थामा ल्याइपु¥याउन स्थानीय अग्रजहरु विगतदेखि नै महत्वपूर्ण योगदान गर्दैआएको आफूले जानकारी पाएको बताउदै उहाँले आजको दिनमा अग्रजहरुको अनुभव सुनेर र उनीहरुको सीपबाट सिकेर वर्तमान पिढीले पनि काम गर्नुपर्ने बताउनुभयो ।देश विकास र जनताको सम्बृद्धिको मुल आधार विद्यालय नै भएकोले शिक्षाको गुणस्तर विकास गर्दै राष्ट्रलाई आवश्यक पर्ने जनशक्तिको उत्पादन गरेर देशमा उत्पादकत्व वृद्धि गर्नेतर्फ विद्यालयको शिक्षा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।सोही अवसरमा सभामुख घिमिरेले विद्यालयले प्रकाशन गरेको स्मारिकाको पनि विमोचन गर्नुभएको थियो ।कार्यक्रममा बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनाली, बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला साह, संविधान सभा सदस्य पुरुषोत्तम पौेडेल, शोभाकर पराजुुुली, जयराम दहाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्वर्ण महोत्सवको सफलताको निम्ति शुुभकामना दिएका थिए ।
सो अवसरमा विद्यालयका संस्थापक सदस्यहरु, विद्यालय स्थापना गर्दाको बखत सहयोग गर्ने सहयोगी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्वप्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरु, विद्यालयमा छात्रवृत्ति कोषका सञ्चालकहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा अंग्रेजी माध्यामको कक्षा संचालन गर्न भूमिका निर्वाहा गर्ने शिक्षकहरु, विद्यालयमा प्लस टुु कक्षा संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।त्यसैगरी नेपाल सरकारको विशिष्ठ र राजपत्रांकित प्रथम श्रेणी र सो सरहको पदमा पुगेका वर्तमान र पूर्वकर्मचारीहरु, विद्यावारिधि उपाधि हासिल गर्नेहरु, एमविविएस गर्ने पूर्वविद्यार्थी, राजनीतिक नियुुक्ति पाएका र राष्ट्रिय स्तरका खेलाडी, उद्यमी, कलाकार, साहित्यकारहरु, पत्रकारहरु र विद्यालयमा अध्ययन गरेका र विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेसमेत गरी करिव २ सय जनालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविकुुमार बर्तौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचनाको अवस्थाको बारेको विवरण उल्लेख भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन विधालय व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटाले गर्नुभएको थियो ।सोही अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नुको साथै विज्ञान, कृषि प्रदर्शनी र खानाको स्टलसमेत राखेका थिए ।मधेस प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सो विद्यालय वि.स. २०३१ सालमा स्थापना भएको सो विद्यालयले साताव्यापी कार्र्यक्रमको आयोजना गरेर स्वर्ण महोत्सव मनाएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका कारण विद्यालयमा हाल निजगढसहित बारा, रौतहटसहित मधेस प्रदेशका विभिन्न जिल्लाका पालिकाहरुका करिव २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन ।



















