काठमाण्डौ – मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार ९४ जना मतदाता थपिएका हुन् ।चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था रहेकोमा यसपटक सरकारले अध्यादेश मार्फत कानुन परिवर्तन गरेर नामावली संकलन गरेको हो । यसपटक राष्ट्रिय परिचयपत्र प्रयोग गरेर निबेदन दिँदा बायोमेट्रिकका लागि कार्यालयमा जान नपर्ने व्यवस्था गरेका कारण मतदाता सङ्ख्या उल्लेख्य बढ्न सकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार अध्यादेश ल्याएर थपिएको समयमा कार्यालयमा गएर फोटो खिचाउन पर्नेतर्फ तीन लाख ४४ हजार ९ सय १४ जना र राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन गर्नेतर्फ चार लाख ९२ हजार १ सय ८० जना मतदाता दर्ता भएका छन् । आयोगले कुल मतदातामध्ये ज्यान गएका वा उजुरी परेकाहरूको टुङ्गो लगाएर आउँदो पुस १५ गतेसम्म अन्तिम मतदाता संख्या सार्वजनिक गर्नेछ ।
मतदाता सूचीमा नाम समावेश भएकामध्ये आउँदो फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मात्रै फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउने छन् । आयोगले नामावली संकलन भने १६ वर्ष पुगेका सबैको गर्दै आएको छ ।

















