वीरगञ्ज,वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला र हैजा सङ्क्रमण क्रमशः नियन्त्रण उन्मुख देखिएको छ । पछिल्ला दिनहरूको तथ्याङ्कअनुसार अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएको छ भने उपचारपछि स्वास्थ्य भएर घर फर्किनेहरूको सङ्ख्या बढेको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमवार दिउसोबाट पछिल्लो २४ घण्टामा केवल ५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने झाडापखालाका कारण ३७ जना विभिन्न अस्पतालमा भर्ना भएका छन् ।यसअघि सोमवार ३ जनामा हैजा र ४४ जनामा झाडापखाला देखिएको थियो । आइतबारको तथ्याङ्कमा १५ जनामा हैजा र ८८ जना झाडापखालाका बिरामी भर्ना भएका थिए । तथ्याङ्कले सङ्क्रमण नियन्त्रणतर्फ अघि बढेको सङ्केत गर्छ ।नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार गत १२ दिनअघि हैजा पुष्टि भएयता सङ्क्रमणको दर ४० देखि ५० प्रतिशतले घटेको छ । हाल नारायणी अस्पतालमा ३९ जना बिरामी उपचाररत छन्, जसमध्ये २ जना मात्र आइसियुमा छन् ।

नारायणी अस्पतालमा झाडापखाला र हैजाका लागि छुट्टै उपचार व्यवस्था गरिएको छ भने अन्य नियमित स्वास्थ्य सेवाहरू पनि निर्बाध सञ्चालनमा रहेको डा. सिंहले जानकारी दिए । “अबको केही दिनमा हैजा सङ्क्रमण शून्य हुने अपेक्षा छ,” डा. सिंहले भने, “रोकथाममा जनचेतना र सावधानी अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हो ।”मङ्गलवारसम्म विभिन्न अस्पतालबाट ८४३ जना स्वास्थ्य भएर घर फर्किएका छन् भने ७० जनाको उपचार जारी छ । स्वास्थ्य शाखाका प्रमुख राजु साहले सङ्क्रमणको सङ्ख्या घट्नु सुखद भएको बताउनुभयो । “गत शुक्रवारदेखि सुरु भएको सङ्क्रमणले सुरुमा महामारीको रूप लिए पनि अहिले नियन्त्रणमा आएको छ,” उनले भने । हालसम्म १८० जनामा हैजा पुष्टि भएकोमा १६९ जना निको भएर फर्किएका छन् भने ११ जनाको उपचार चलिरहेको छ ।

चिकित्सकहरूले सङ्क्रमण नियन्त्रणमा आए पनि व्यक्तिगत सरसफाइ, उमालेको पानीको प्रयोग र हात धुने बानी अपनाउन सुझाएका छन् । नारायणी अस्पतालका डा. नीरज सिंहले हैजा हावाबाट नफैलिने र सरसफाइमा ध्यान दिए पूर्ण रूपमा जोगिन सकिने बताए ।सङ्क्रमण नियन्त्रणका लागि महानगरले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी स्वास्थ्यकर्मी परिचालन, जनचेतना अभियान, खानेपानीको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्रता दिएको छ । पानीपुरी, चाटजस्ता स्ट्रिट फुडमा प्रतिबन्ध लगाइएको छ ।स्वास्थ्य विशेषज्ञहरूले दीर्घकालीन नियन्त्रणका लागि स्वच्छता र पूर्वाधार सुधार आवश्यक रहेको औँल्याएका छन् । महानगरले स्थानीयवासीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमण पूर्ण नियन्त्रणका लागि सहभागिता बढाउन अपिल गरेको छ ।

Leave a Reply