जीतपुर,प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले कृषि प्रधान देशमा पशुपालन व्यवसाय हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । विज्ञान र प्रविधिको युगमा कृषि तथा पशुपालनलाई पनि आधुनिक तथा बैज्ञानिकीकरण गर्नुपर्नेमा झन मानिसले पशु पाल्नै छोड्नु दुखद भएको बताउनुभयो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको समिश्रण कृषि सहकारी संस्थाद्धारा ४३ लाखको लागतमा सञ्चालित बाख्रा फर्मको उद्घाटन गर्दै मन्त्री सोनलले पशुपालन व्यावसायमा लगानी गर्न तिन तहकै सरकारको नजर नपुगेको भन्दै प्रदेश २ मा आफुले पहल गर्ने दृढता व्यक्त गर्नुभयो ।
फर्म उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकवाल मियाँले कृषि क्षेत्रका लागि केन्द्रीय स्तरबाट पनि विभिन्न किसिमका अनुदानहरु आउने हुँदा उक्त अनुदानको उपयोग गरी लाभ लिन व्यावसायीहरुलाई अपिल गर्नुभयो । नवौँ बार्षिक साधारण सभाको अवसरमा समिश्रण कृषि सहकारी संस्थाले बाख्रा फर्म संचालनमा ल्याएको हो । पशुपालन व्यावसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भनेर प्रमाणित गर्नुका साथै बेरोजगार युवाहरुलाई रोजगार दिलाउन तथा पशुपालन व्यावसायतर्फ नवपुस्ताहरुलाई आकर्षित गर्ने अभिप्रायले फर्म सञ्चालन गरिएको संस्थाका अध्यक्ष प्रमोद चौधरीले बताउनुभयो । करिब ५ सय बाख्रा पाल्ने तयारी स्थापना गरिएको फर्मले १० जना शेयर सदस्यलाई स्वरोजगार बनाउने लक्ष्या लिएको संस्थाका सचिव रमेश प्रसाद चौधरीको भनाई छ ।