आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा हरिओमप्रसाद जयसवालले बुधवारबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्नु भएको छ ।अधिकृत जयसवालले सिम्रौनगढ नगरपालिकामा योसहित पाँचौ पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनु भएको हो । नगरपालिकामा दरबन्दीअनुसारको कर्मचारी नआएपछि स्वास्थ्य शाखा छैठौं तहमा कार्यरत जयसवालले सिम्रौनगढमा पटक पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । जयसवालले पूर्वनगर प्रमुख विजयशंकर यादवको कार्यकालमा ३ पटक र हालका नगर प्रमुख किशोरीप्रसाद कलवारको कार्यकालमा ३ पटक गरी ५ पटकसम्म प्रशासकीय अधिकृतको रुपमा काम गर्ने मौका पाउनुभएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि नगरपालिका कार्यालय २ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन थियो । सेवाग्राहीसँग बिल भुक्तानी गरिदिने भन्दै नगद रकम घुस लिएको आरोपमा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको टोलीले कलैयाबाट नियन्त्रणमा लिएको थियो ।

कार्यभार ग्रहणपछि बोल्दै अधिकृत जयसवालले आफ्नो लक्ष्यअनुसार ऐतिहासिक, पर्यटकीय एवंम धार्मिकस्थल सिम्रौनगढको सौन्दर्यकरण, भौतिक संरचना निर्माण, यतायात र सडक व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्ने बताउनुभयो । उहाँले सिम्रौनगढ क्षेत्रको पुरातात्विक, ललितकला र वास्तुकलाको संरक्षण गरि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण वृद्धि गरेर नगरको पहिचान अभिवृद्धिको काम गर्ने पनि बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियम र कानुनले दिएको अधिकार प्रयोग गरी आफूले भ्याएसम्म नगरको विकास र उन्नतिको लागि इमान्दारिताका साथ काम गर्ने पनि उहाँको भनाई थियो ।सो अवसरमा सिम्रौनगढ नगर प्रमुख किशोरीप्रसाद कलवारलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जयसवालको फूलमाला र अबीर लगाएर स्वागत गरेका थिए ।

Leave a Reply