बाराको सिम्रौनगढ आफैमा ऐतिहासिक स्थान हो । ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व बोकेको बारा जिल्लाको सिम्रौनगढ अनि सोही नगरको वडा नम्बर ४ हरिहरपुरस्थित पलकियामाई क्षेत्रमा पुरातत्व विभागले शुरु गरेको उत्खनन कार्यमा नयाँ कुरा भेटिएको छ ।
अघिल्लो पाँच दिनदेखि जारी उत्खननका क्रममा महत्वपूर्ण संरचना र जानकारीहरू फेला परेपछि सिम्रौनगढको ऐतिहासिक महत्व झनै बढेको छ । सो क्षेत्रमा उत्तरतर्फ रहेको जस्तै दुई वटा स्तम्भजस्तो देखिने ढुङ्गे संरचना पनि सतहमा देखापरेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना इट्टा र तिनका टुक्रा, दियो, भाँडाकुँडा, प्रस्तर मालाको दाना र वास्तुका थुप्रै अंशहरू भेटिएका छन् ।
जमिनमुनि रहेका पुरातात्विक संरचनाहरूको प्रकृति र इतिहास उजागर गर्न उत्खनन थालिएको थियो । सिम्रौनगढको नेपालको इतिहासमा १२औँ शताब्दीमा राजा हरिसिंह देवको शासनकालसँग सम्बन्धित छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले विशिष्ट स्थान मानिन्छ । पलकियामाई क्षेत्र धार्मिक आस्थासँगै पुरातत्व अध्ययनका लागि पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।उत्खनन कार्यले सिम्रौनगढको पुरातन महत्व पुष्टि गर्दै यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसको माध्यमबाट क्षेत्रको सांस्कृतिक धरोहर उजागर हुने र पर्यटन प्रबद्धधनमा टेवा पुग्ने अपेक्षा छ ।
नेपाल सरकारको पुरातत्व विभाग काठमाडौँबाट आएको तीन सदस्यीय टोलीले गत मङ्सिर ७ गते शुक्रवारदेखि औपचारिक रूपमा यस क्षेत्रमा उत्खनन सुरु गरेको हो । पुरातत्व विभागका अधिकृत भास्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीमा पुरातत्व विज्ञ देवेन्द्रनाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र सहायक छविकार नर्मदा श्रेष्ठ सहभागी छन् । उत्खनन कार्य आगामी २१ दिनसम्म सञ्चालन हुने जनाइएको छ । योबाट पनि के प्रष्ट हुन्छ भने सरकार यसको संरक्षणमा लागेको छ र यसमा स्थानीयवासी,स्थानीय सरकार तथा प्रदेशका पनि सहयोग हुन आवश्यक छ ।