पुष्पराज खतिवडा

मनहर्वा,प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको रुपमा रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१६ को टाँगियाबस्तीका सुकुम्बासीहरुलाईं जग्गाधनी पूर्जा वितरणमा समस्या भएको राष्ट्रिय भुमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीले बताउनु भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनका शीर्ष नेताहरु विमानस्थल निर्माण क्षेत्रको निरीक्षण गर्ने क्रममा निजगढ आइपुगेको बेला बस्तीको उचित निकास सम्बन्धी विषयमा पनि केही शंवोधन हुने उप्रेतीले आशा गर्नुभएको थियो । तर उहाँको आशा पुरा हुन पाएन । उप्रेती निराश हुदै घर फर्किनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुले विमानस्थलको बारेमा बोलिसकेपछि अध्यक्ष उप्रेतीले बस्तीमा जग्गाधनी पुर्जा वितरण गर्ने बारेमा देखिएको समस्या बारे केही कुरा राख्न समय माग्नु भएको थियो । ‘मेरो एउटा जिज्ञासा छ भन्दै अध्यक्ष उप्रेतीले उठेर कुरा राख्न खोज्नु भएको थियो, कार्यक्रममा सहभागी निजगढका पत्रकार इन्दिप कोइरालाले भन्नुभयो, तर उहाँको कुरामा कसैले पनि चासो देखाएनन, ‘कोइरालाले भन्नुभयो, अध्यक्ष उप्रेतीको कुरा सुन्दै नसुनी प्रधानमन्त्री लगायत शीर्ष नेताहरु कार्यक्रम स्थलबाट बाहिरिएँ ।’ त्यसपछि भुमि आयोगका बारा जिल्ला अध्यक्ष उप्रेती पनि निराश हुदै कार्यक्रम स्थलबाट बाहिरिनुभएको थियो ।

प्रधानमन्त्री सहितका शिर्ष नेताहरुले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाएरै छाड्ने बताइरहेका बेला आयोगका अध्यक्ष उप्रेती भने टाँगियाबस्तीको निकासका बारेमा पनि नेताहरुबाट केही कुरा आउँछ कि भनेर ध्यान दिएर नेताहरुको भाषण सुनिरहनुभएको थियो । तर गठबन्धनमा आवद्ध दलका ५ नेताहरुले पालैपालो बोल्दा पनि टाँगियावस्तीका सुकुम्बासीको समस्या समाधान हुने गरी एक शव्द पनि बोलेका थिएनन् । टाँगियावस्ती व्यवस्थापन गर्ने विषयमा कुनै नेताले पनि नबोलेपछि प्रधानमन्त्रीलाई नै प्रश्न गर्न अध्यक्ष उप्रेती तम्सिनु भएको थियो ।

प्रधानमन्त्रीसँग कुरा राख्न नपाएपछि उप्रेतीले संचारकर्मी समक्ष आयोगले विमानस्थल निर्माण हुने क्षेत्रको बस्तीका करण जग्गाधनी पुर्जा वितरणमा समस्या बेहोर्नु परेको सुनाउनुभयो । ‘आयोगको काम अघि बढाउँदा टाँगियाबस्तीमा दश वर्षदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई लालपूर्जा दिने कि नदिने भन्ने बारेमा दुविधा भएकोे छ , बस्तीका करिव १४ सय घरधुरी परिवारले वर्षौदेखि बसोबास गर्दै आएको उक्त स्थानको जग्गाधनी पुर्जा पाउँ भन्दै आयोगमा निवेदन दिएका छन ।’

आवेदन बुझेको ३५ दिनभित्रमा आयोगले पूर्जा वितरण गरिसक्नु पर्ने कानुनमा उल्लेख छ।‘अहिले पुर्जा दिऔं, भोलि विमानस्थल निर्माण गर्ने क्षेत्रमा पर्ने बस्ती स्थान्तरण गर्नुपर्ने होला, अध्यक्ष उप्रेतीले भन्नुभयो, नदिऔं विमानस्थल कहिले बन्ने कुनै ठेगान छैन ।’ विमानस्थल निर्माण हुने समयको यकिन नहुँदा स्थानीयहरुले जग्गाधनी पुर्जासहित सरकारबाट कुनै सुविधा प्राप्त गर्न नसकेर समस्या परेका छन ।’

प्रधानमन्त्रीले उप्रेतीको कुरा सुन्न नचाहेपछि कार्यक्रम स्थलबाट बाहिरिँदै गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई उहाँले आफना कुरा सुनाउनुभएको थियो । प्रचण्डले यस विषयमा चाँडै निकास दिन सरकारमा कुरा राख्छु भनेर भनेको उप्रेतीले बताउनुभयो ।

नेता नेपालले भने टाँगियाका जनतालाई कोल्हबी नगरपालिकाको जडिबुटी स्थास्थान र डुमरवानास्थित चिनी मिलको जग्गामा सार्ने दुई विकल्पमा कुरा भइरहेको सुनाउनुभएको थियो । तर कहिले सार्ने हो भन्ने बारेमा भने जानकारी नपाइएको उहाँले बताउनुभयो ।

यस्तै आयोग अध्यक्ष उप्रेतीले पालिकाहरुले सुकुम्बासीको समस्या समधानका लागि सहयोग नगरेको गुनासो समेत गर्नुभएको छ । आयोग गठन भएको अढाइ महिना भइसकेको र आयोगले सुकुम्बासीहरुको आवेदन उपलब्ध गराइदिन पटक पटक आग्रह गर्दा पनि पालिकाहरुले वास्ता नगरेको उहाँको गुनासो छ ।

टाँगियाबस्तीकोे न्यायोचित व्यवस्थापन गरेर मात्रै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न स्थानीय सर्वदलीय समितिको बैठकले सरकारसँग माग गरेको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६को पिलुवामा आइतवार बसेको सर्वदलीय बैठकले वस्तीको यथोचित व्यवस्थापन गरेर मात्रै विमानस्थल निर्माणको काम सुरु गर्नुपर्ने माग गरेको हो ।

प्रस्तावित विमानस्थल निरीक्षणको क्रममा शनिवार आइपुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ ५ दलीय गठबन्धनका नेताहरुले सरकारले निजगढ विमानस्थल जसरी पनि बताउने बताएपछि स्थानीयमा बस्तीको यथोचित ब्यवस्थापन नगरी विमानस्थल निर्माण गर्न लागिएको हो कि भन्ने चिन्ता बढेको छ । प्रस्तावित विमानस्थलको रनवेमा पर्ने उक्त बस्तीका बासिन्दाहरुले विमानस्थल निर्माणको काम सुरु हुनुअघि नै बस्ती व्यवस्थापन गरिनु पर्ने माग गर्दै आएका छन । स्थानीयले विमानस्थल निर्माणको साटो आफूहरुलाई सोही स्थानमा स्थायी बसोबास हुने गरी जग्गाधनी पुर्जा पनि माग गर्दै आएका छन । यसअघि जेष्ठ १२ गते सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्ने भनेर गरेको फैसलाको टाँगियाबस्तीका बासिन्दाहरुले स्वागत गर्दै दिपावलीसमेत गरेका थिए ।

टाँगियाबस्तीकोे व्यवस्थापन गरेर मात्रै विमानस्थल बनाउन स्थानीयको माग

सरकारको जीतपुरसिमरा वडा नम्बर १६ टाँगियाबस्ती रहेको स्थानमा राष्ट्रिय गौरवको आयोजना दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना छ । सर्वदलीय बैठकले टाँगियाबस्तीका जनताको उचित ब्यवस्थापन गरेर मात्रै विमानस्थल निर्माणको कार्य अगाडि बढाउन सरकारसंग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

टाँगियावस्तिमा १४७६ घरधुरी परिवारमा करिव ११ हजार जनसंख्याको बसोबास रहेको छ । लामो समयदेखि विमानस्थल निर्माण हुने गर्ने चर्चा चलेपछि यस क्षेत्रमा सरकारी निकायले पूर्वाधार विकासको काम रोकेका छन । ‘विकास निर्माणका कार्य ठप्प छन, जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले भन्नुभयो, विमानस्थल निर्माण गर्न सकिने अदालतको फैसलापछि अहिले फेरि स्थानीयमा चिन्ता बढेको छ ।’ उर्जा मन्त्रालयले टाँगिया बस्तीमा विद्युतीकरण विद्युत प्राधिकरणले ठेक्का लगाएर तार र पोल गाढन थालेकोमा डिभिजन वन कार्यालय बाराले रोक लगाएको छ । बैठकले टाँगियामा तत्कालविद्युतीकरण गर्न सहजीकरण गर्न समेत सरकारसँग आग्रह गरेको खरेलले जानकरी दिनुभयो ।

असार १८ गते सरकार प्रमुख (प्रधानमन्त्री) शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत सत्ता गठबन्धनका शीर्ष नेता निजगढ आएको तर टाँगियाबासीको व्यवस्थापनको बारेमा केही नबोलेको भन्दै स्थानीय चिन्तित बनेका हुन । ‘दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा २०३४÷ ३५ सालदेखि बसोवास गरेका जनताहरूको विषयमा सरकार जिम्मेवार हुनुपर्ने हाम्रो माग छ ।’ खरेलले भन्नुभयो । कतै पर्याप्त मुअब्जा बिना नै सरकारले बस्ती उठाउने हो कि भन्ने चिन्ता बढेको वडा अध्यक्ष खरेलले बताउनुभयो ।

स्तीको समस्याप्रति राज्य गम्भीर हुन नसकेको टाँगियाबस्तिका अगुवारमेश सापकोटाले गुनासो सुनाउनुभयो । विमानस्थ निर्माण क्षेत्रको निरीक्षण भ्रमणमा आउनुभएका प्रधानमन्त्रीदेउवासहितका नेताहरुले टाँगियाबस्तीको व्यवस्थापन गर्ने बारेमा एक शव्द पनि नबोलेको अर्का स्थानीय नवराज संजेलले बताउनुभयो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा दुई लेनको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउने बताइरहदा आफ्ना समस्याको बारेमा पनि सम्बोधन हुनेटाँगियाका जनता आशावादी थिए । प्रधानमन्त्री सहितका नेताहरुको मन्तव्यमा बस्ती ब्यवस्थापनका सम्बन्धमा केही नबोलेकोमा चिन्ता लागेको वडा अध्यक्ष खरेलले बताउनुभयो ।

सर्वपक्षीय बैठकमा नेपाली काङ्ग्रेसका वडा सभापती नवराज संजेल, कोषाध्यक्ष ज्ञानबहादुर थिङ,श्याम तुम्सीङ,नेकपा एमालेका पुष्पराज थापामगर,नारायण घिमिरे,रमेश सापकोटा सहभागी थिए । यस्तै नेकपा माओवादीका नेता निवर्तमान वडा अध्यक्ष केदारनाथ बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल नेपाल, बुद्धिजीवी अनिल मैनाली, राधेश्याम शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply