काठमाण्डौ – नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा मंगलवार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।
बाढी पहिरोका कारण गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम गरेको छैन । बाटो र पुल बगाएकोले तत्काल रसुवागढी नाकामा पुग्नसक्ने अवस्था छैन ।
यसैबीच नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
अहिलेसम्म नौ जनाको शव भेटिएकोमा पाँच जनाको पहिचान भएको छ । बाढीमा १९ जना हराएका थिए ।
उता, श्राद्ध गर्न जाँदा कैलालीको गोदावरी नगरपालिका– ४ स्थित गोदावरी नदीको टापुमा फसेका छजनाको सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले उनीहरुको आज उद्धार गरेको हो ।
गोदावरी नदीमा श्राद्ध गर्न गएका उनीहरु एक्कासी बाढी आएपछि काठे पुलनजिक टापुमा फँसेका थिए । उद्धार गरिएका व्यक्तिमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की रहेका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।
यसैगरी, उद्धार गरिएका दुई जनामा शुक्लाफाँटा –६ कै ३५ वर्षीय वीर सार्की र वेदकोट नगरपालिका –७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन् । नदीको टापुमा मानिस फँसेको खबर प्राप्त हुनासाथ कैलालीको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बालनरसिंह राणा समेत घटनास्थल पुग्नुभएको थियो ।


















