निजगढ,जिल्ला अदालत बाराले लगत कट्टा नगर्दा फैसला अनुसारको कैद र जरिवाना भुक्तानी गरेका निजगढ नगरपालिकाका एक सर्वसाधारणलाई प्रहरीले फरार प्रतिवादीको आरोपमा पक्राउ गरेको छ ।प्रहरीले निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका सागर राईलाई फरार प्रतिवादीको आरोपमा पक्राउ गरेर मंगलवार जिल्ला अदालत बारामा पेश गरेको हो । सवारी ज्यान मुद्दामा अदालतबाट गत वर्ष १ महिना कैद र १ हजार जरिवार फैसला भएका राईले सोही समयमा वीरगञ्ज कारगारमा कैद भुक्तानी गरेर जरिवाना रकमसमेत बुझाउनुभएको थियो । तर जिल्ला अदालतल बाराले फरार प्रतिवादीको सूचीमा नाम राखेर पठाएपछि निजगढ प्रहरीले राईलाई नियन्त्रणमा लिएर कलैया पु¥याएको थियो ।
कैद र जरिवाना भुक्तानी गरिसकेको प्रमाणको रसिद देखाएपछि उनी अदालतबाट छुटेका थिए ।

अदालतका कर्मचारीहरुको लापरबाहीले आफूले अनावश्यक दुःख खेप्नुपरेको राईले बताउनुभएको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले पनि अदालतबाट प्राप्त भएको फरार प्रतिवादीको सूचीमा नाम देखिएपछि राईलाई पक्राउ गरिएको र सजाय भुक्तानीको गरेको पाइएपछि तत्काल छोडिएको बताउनुभएको छ । मंगलवार निजगढबाट प्रहरीले राईसहित ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर अदालतमा बुझाएको थियो ।
यसैबीच बारा प्रहरीले अघिल्लो २ दिनमा अदालतबाट सजायको फैसला भएपछि फरार रहेकानिजगढ नगरपालिकाका एक जनासहित ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो र अस्ति गरेको खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने प्रतिवादीहरुमा हातहतियार तथा खरखाजाना मुद्दामा तीन महिना कैद सजाय तोकिएका निजगढ नगरपालिका–३ सिंगौलका मेललाल भन्ने मंगलबहादुर पाख्रिन, सवारी ज्यान मुद्दामा एक वर्ष कैद सजाय पाएका कलैया उपमहानगरपालिका– १८ मोतिसरका शयामकुमार बैठा र लागुऔषध मुद्दामा अदालतबाट २० दिन कैद सजाय फैसला सुनाइएका कलैया उपमहानगरपालिका–१२ सितलपुरका मनोज साह रहेका छन ।
यसैगरी चेक अनादर मुद्दामा सुवर्ण गाउँपालिका– २ कबहीगोठका राजिव यादव, मर्धबिस यादव र अनुरुकुमार यादवलाई पनि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा पेश गरिएको सापकोटाले बताउनुभयो ।

Leave a Reply