जनकपुरधाम,नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । सत्ता साझेदार मुख्य दल सरकारबाट बाहिरिएपछि मधेसमा एमाले, माओवादी, जनमत र लोसपा गठबन्धनको नयाँ सरकार बन्ने देखिएको छ ।
आइतवार दुवै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका राज्यमन्त्रीसहित छ जना र माओवादीका दुई जना मन्त्री थिए । एमाले र माओवादीले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा पर्नुभएको छ ।

एमालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका छन् ।यस्तै माओवादीबाट संसदीय दलका नेतासमेत रहनुभएका वन तथा वातावरणमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा दिएका छन् ।
आइतवार नै सरकार नछाडे यसै सरकारले बजेट ल्याउन सक्ने, केन्द्रमा भएको जसपा नेपालको विभाजन पश्चात पनि प्रदेशमा उसको सांसदहरु नुखल्ने जस्ता सम्भावना देखेपछि आन्तरिक गृहकार्य गरी दुबै दलले सरकार छाडेको माओवादी केन्द्रका एक नेताले बताएका छन ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेशमा सरकार फेरबदल हुन लागेको हो ।यसैबीच मधेसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका हुन ।

एमाले माओवादीले सरकार छाड्नुअघि चारदलका नेताहरुको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए ।
बैठकपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी दलका नेता भरतप्रसाद साह, जनमतका नेता महेशप्रसाद यादव, लोसपाका दलका उपनेता उपेन्द्र महतो, एमाले सचेतक हरिनारायण महतो, लोसपा सांसद रानी शर्मा तिवारी, माओवादीका नेता युवराज भट्टराईको सामूहिक तस्वीर पनि सार्वजनिक भएको छ ।दलहरुबीच अहिले पनि नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको छ । स्रोतका अनुसार सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

बैठकमा सरकारको नेतृत्व कसले गर्ने, सरकारमा दलीय प्रतिनिधित्व कसरी गर्ने लगायतका विषयमा छलफल भएको छ ।
१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेसमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।

Leave a Reply