निजगढ,निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमितिको अध्यक्षमा सुदर्शनप्रसाद कोइरालालगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन । यसअघि पनि अध्यक्ष रहनुभएको कोइराला दोस्रो कार्यकालको लागि अध्यक्षमा चुनिनुभएको हो ।अध्यक्ष लगायत केही पदमा उम्मेदवारी दिएकाहरुले हिजो मनोनयन पत्र फिर्र्ता लिएपछि कार्यसमितिको सर्वसम्मत चयन भएको हो । निर्वाचन समितिले भने यसको आधिकारिक घोषणा गरेको छैन । मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरेर समितिले कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।त्यसैगरी सदस्यमा ध्रुव धिताल, सुमित्रा खडका, सुनमाया लोप्चन र यज्ञबहादुर राउत चयन हुनुभएको छ । ३ सदस्यीय लेखा समितिको संयोजकमा रोशनकुमार तिमल्सिना र सदस्यहरुमा राजकृति कुवर र अरुण लामा पनि सर्वसम्मत चयन भएका छन । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीबीच खानेपानी संस्थाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने सहमति भएको थियो ।निजगढका मुख्य राजनीतिक दलहरुबीच भएको सहमति अनुसार संस्थाको नयाँ कार्यकालको लागि कार्यसमितिका पदाधिकारीहरुको निर्विरोध चयन भएका हुन । दलीय सहमतिअनुसार अध्यक्षमा नेकपा एमालेका सुदर्शनप्रसाद कोइराला, उपाध्यक्ष र सचिवमा माओवादीबाट रमेश अर्याल र यतिराज सापकोटा, सहसचिवमा नेपाली कांग्रेशका बुद्धिबहादुर शाही तथा कोषाध्यक्ष पदमा राप्रपाकी गीता भट्टराई चयन हुनुभएको हो ।अध्यक्ष पदमा सर्वसम्मत चुनिएपछि कोइरालाले आफूले सबैलाई मिलाएर खानेपानी सुविधाको विस्तारको लागि काम गर्ने बताउनुभएको छ । उहाँले उपभोक्ताहरुलाई सुलभ रुपमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन सबै पक्षलाई समेटेर काम गर्ने बताउनुभयो ।त्यसैगरी कार्यसमितिका उपाध्यक्ष रमेश अर्यालले पनि पनि उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो ।सहसचिव पदमा सर्वसम्मत चुनिनुभएका बुद्धिबहादुर शाहीले संस्थाको विकासको लागि मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको र सोही अनुसार दलहरुले संस्थाको निर्वाचनमा सर्वसम्मति कायम गर्ने निर्णय भएको बताउनुभएको छ ।

Leave a Reply