निजगढ,निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतवार भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ६५ जनाले रगत दान गरेका छन ।सहकारीले २५औं वार्षिक साधारण सभाको अवसरमा रक्तसंचार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा निजगढको शहिद चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कोशी आँँखा अस्पताल विराटनगरका नेत्र चिकित्सक प्रमोद गौतमले शुभारम्भ गरेको सो रक्तदान कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, नेपाल रेडक्रस सोसाइटी बारा शाखा महामन्त्री कृष्ण खरेल, रेडक्रस निजगढ सभापती रुद्र धिताल लगायतको उपस्थिति रहेको थियो ।निजगढको जेठो सहकारी मध्येको एक सगरमाथा सहकारीले रजत वर्षको अवसरमा शनिवार आँखा शिविर र त्यसअघि नगरका विद्यालयस्तरीय हाजिरीजवाफ, वकृत्वकला र चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । सहकारीको साधारण सभा भने सोमवार निजगढ ८ स्थित शुभकार्य बैङ्गुटमा आयोजना गर्दैछ ।
















