दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बरियारपुरमा लाग्ने पञ्चवर्षिय गढिमाई मेलाको अवसरमा कोल्हबी नगरपालिकामा बुधवार एक कार्यक्रमबीच चौथो कोल्हबी मेयर क्रिकेट कपको उद्धाटन भएको छ ।ज्ञानु फाउन्डेशनको आयोजना र परिवर्तनको लागि युवा समाजको सहकार्यमा प्रतियोगिता संचालन भएको हो ।

ज्ञानु फाउन्डेसका अध्यक्ष ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको सो प्रतियोगिताको उद्धाटन कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले नगरमा धेरै संघसंस्थाहरुले खेलकुद प्रतियोगिता आयोजना गर्नेभएकाले आर्थिक सहयोग गर्न नगरपालिकालाई समस्या भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता प्रतियोगिताहरु सकेसम्म एकीकृत रुपमा संचालन गर्न पनि आग्रह गर्नुभयो ।
प्रतियोगिता सफल पार्न कोल्हबीस्थित रामचन्द्र आयल स्टोरका प्रोपराइटर महेशकुमार साहले १५ सेट जर्सी आयोजकलाई सहयोग गर्नुभएको थियो ।
उद्धाटन कार्यक्रममा कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, नेकपा एमाले कोल्हबी नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरीलगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आयोजक संस्थाका सदस्य बुधन चौधरीले स्वागत मन्तव्य र इन्दिरा चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
उद्घाटन खेलमा निजगढ क्रिकेट क्लब निजगढलाई सिमरा क्रिकेट क्लबले सिमराफराकिलो अन्तरमा पराजित गरेको छ । निजगढले टस जितेर फिल्डिङ रोजेको थियो । १६ वटा टिम सहभागी प्रतियोगितामा खेलमा छक्का प्रहार गर्ने प्रत्येक खेलाडीलाई कोल्हबीस्थित शुभ रिद्धीसिद्धि ज्वेलर्सका प्रोपराइटर अशोक महर्जनकोतर्फबाट प्रत्येक छक्कामा नगद रु ५० को दरले उपहार दिने आयोजक संस्थाका अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिनुभयो ।प्रतियोगितामा विजयी टिमले नगद रु २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले हुने टोलीले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।



















