कृष्णउदास खनाल

वीरगन्ज,मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जको मेयर पद सत्ता गठबन्धनको तर्फबाट जसपाको भागमा परेपछि अहिले वीरगन्जमा विभिन्न चर्चा परिचर्चा हुन थालेको छ । भागबण्डा अनुसार वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले मेयर र नेपाली कांग्रेसले उपमेयरमा उम्‍मेदवारी दिनेछन् ।

अघिल्लो २०७४ को चुनावमा पनि जसपाले नै मेयर जितेको थियो । उपमेयर भने कांग्रेसले जितेको थियो । यसपटक भने प्रमुख प्रतिस्पर्धी जसपा र कांग्रेसबाट सहमतिमा साझा उम्‍मेदवार तय गर्नेछन् । साँझा उम्‍मेदवारलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मतदान गर्नेछ । अघिल्लो चुनावमा जसपाका विजय सरावगीले १९,३९२ मत ल्याएर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १७,१९७ मत ल्याउनु भएको थियो । तत्कालिन फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ८,७०१ मत ल्याउँदै चौंथो स्थान हासिल गर्न सफल हुनु भएको थियो ।

फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भएपछि अहिले यो मत पनि काँग्रेसले गनेको छ तर श्रीवास्तव भने हाल जसपाका सांसद हुनुहुन्छ । अब कांग्रेसको मत २५,८९८ हुन्छ । त्यसमा जसपा र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८,३०५ मत ल्याउनु भएको थियो । सबै सत्ता गठबन्धनको मत जोड्दा अब ५३,५९५ हुन्छ । त्यसमा एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीको केही मत थपिन सक्छ ।

यो गठबन्धन मुख्यगरी प्रमुख विपक्षी दल नेकपा एमालेका उम्‍मेदवारविरुद्ध बनेको हो । तर ०७४ को चुनावमा एमाले पहिलो शक्ति बनेपनि वीरगन्जको भने पाँचौं शक्ति हो । एमालेले तेस्रो स्थानमा रहेको राजपा भन्दा ३,४७७ मत कम ८,६८८ मत मात्रै ल्याएको थियो । तर महानगरमा माओवादी केन्द्रभन्दा ३८३ मत मात्रै बढी ल्याएको एमालेविरुद्ध गठबन्धनबाट साझा उम्‍मेदवार उठाउने सहमति जुटेको छ । जबकी गठबन्धनको चुनावी मत असर पार्न जसपा छोडेर मेयर सरावगी एमाले प्रवेश गर्नु मात्रै देखिन्छ । त्यसो त करिब दुई महिना अगाडिसम्म सरावगी र सिंह एउटै पार्टीमा रहेका थिए । सुरुमा सिंह एमालेमा प्रवेश गर्नुभएको थियो भने पछि सरावगी एमालेमा प्रवेश गरेपछि सिंह पुनः जसपामा नै फर्कनु भएको थियो ।

राजनीतिमा स्थिर नभएको र व्यक्तिगत आचरण पनि राजनीतिक दलको अनुरुप नभएका कारण सिंहलाई मत दिन कांग्रेस हच्चिएको नेपाली कांग्रेस पर्साका नेताहरुको भनाइ छ । सिंह घरी यो पार्टीमा र घरी त्यो पार्टीमा प्रवेश गरेका कारण कांग्रेसको मतले जिते पनि उहाँ जसपामा नै बस्ने संभावना कम रहेका कारण आफूहरु सोच्न बाध्य भएको कांग्रेस पर्साका सभापती जनाद्र्धन सिंह क्षेत्रीले बताउनुभयो । सरावगी र सिंह पहिला एउटै पार्टीमा रहेका कारण उनीहरु राजनीतिक रुपमा एकघरकै जस्तो भएकाले पनि वीरगन्जमा सिंह र सरावगीको भिडन्तलाई एकघरको भनिएको चिया पसलहरुमा चर्चा गरेको सुनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here