वीरगञ्ज,वीरगञ्जको बाइपास सडकको पेटीमा सोमवार साँझ एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
पानीट्याङ्की चौक र होटेल भिष्वाको बिचको क्षेत्रमा स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयसँगको सोधपुछमा मृतकको पहिचान राजेश कार्कीको रूपमा गरेको छ ।
५५ देखि ६० वर्ष उमेरका देखिने कार्की नियमित रूपमा मागेर हिँड्ने व्यक्ति रहेको जानकारी स्थानीयले दिएका छन् । यसअघि उनले केही समय होटेलहरूमा काम गरेको बताए पनि स्थायी ठेगाना खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीका अनुसार प्रारम्भिक अनुसन्धानमा चिसोको कारण स्वास्थ्य समस्या भई मृत्यु भएको आशङ्का गरिएको छ ।यद्यपि, वास्तविक कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

Leave a Reply