पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आइतवार राती चोरी भएको छ । आइतवार राती सहकारी संस्थाको कार्यालयमा रहेको ३ लाख १७ हजार १ सय ९२ रुपैंया चोरी भएको संस्थाले जनाएको छ ।बडहर्वा चोकस्थित राधाकृष्ण लामिछानेको घरको भुँई तलामा रहेको सहकारी संस्थाको कार्यालयमा चोरी भएको हो । ‘कार्यालय भवनको पश्चिमपट्टीको मुख्य ढोका फोरेरभित्र चोरहरुको समूह भित्र पसेको पाइयो, संस्थाका अध्यक्ष नारायणप्रसाद घिमिरेले भन्नुभयो, त्यसपछि कार्यालय प्रमुखको कोठमा रहेको स्टील दराज फुटाएर पैसा लगेछन ।’कार्यालयको मुख्य ढोकासहित कार्यालयका दुईवटा ढोकाका ताला फुटेको पनि पाइएको अध्यक्ष घिमिरेले बताउनुभयो । सोमवार विहान कर्मचारीले कार्यालय खोल्ने क्रममा घटनाबारे जानकारी भएको उहाँले जानकारी दिनुभयो ।पछिल्लो समय बडहर्वामा चोरीका घटना वृद्धि भएका छन् । गत वर्ष बडहर्वा चोकमै रहेको साना किसान सहकारी संस्थामासमेत चोरी भएको थियो । चोरले सो संस्थाबाट १२ लाख ७३ हजार ९ सय रकम चोरी गरेका थिए । पछिल्लो समय चोर समुहले स्थानीय संघ संस्था र व्यापारीको पसललाई निसाना बनाएर चोरी गर्न थालेका छन् ।
चोरहरुको समूहले वित्तीय संस्थासँगै निजी घरको धाराहरुमा जडान गरिएको पानी तान्ने मोटर, घरमा राखिएका मोटरसाइकल, ग्यास सिलिण्डर लगायतका सामग्री चोरी गर्ने घटना दिनानुदिन बढ्दै गएको स्थानीय मुकेश लामाले बताउनुभयो । ग्रामिण क्षेत्रमा प्रहरी सुरक्षा व्यवस्था कमजोर रहेकोले चोरी लगायतका अपराधिक घटना वृद्धि भएको उहाँले बताउनुभयो ।बडहर्वा चोकमा रहेको मौवादेवी सहकारी संस्थामा भएको चोरीको घटनाको अनुसन्धान र संलग्नको खोज तलास भइरहेको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here