रौतहट – रौतहटको परोहा नगरपालिका– ३ तेजापाकडमा करेत सर्पको टोकाइबाट पाँच वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय अनिरुद्ध महतोकी पाँच वर्षीय छोरी बिउटी कुमारी कुशवाहालाई शनिवार राति करिब ८ः३० बजे घरको कोठामा खेलिरहेको अवस्थामा करेत सर्पले दाहिने हातको औँलामा टोकेको प्रहरीले जनाएको छ ।
सर्पले टोकेपछि बिरामी भएकी बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल रेफर गरिएको प्रहरीको भनाइ छ । नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण तथा ईसीजी गरेपछि चिकित्सकले आइतबार बिहान करिब १ः१५ बजे बालिकाको मृत्यु भएको पुष्टि गरेका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लौकाहाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीका अनुसार मृतक बालिकाका बुवा अनिरुद्ध महतोले शवको पोस्टमार्टम नगर्ने बताएपछि शव बुझेर घर लगेका छन् ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय लौकाहाबाट करिब दुई किलोमिटर उत्तर पूर्वमा पर्छ ।

















