सिमरा,नेपालमा निर्वाध रुपमा चल्ने भारतीय ढुवानीका साधनमाथि रोक लगाउनुपर्ने माग राखेर आन्दोलनरत यातायात मजदुरहरूले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा मालवाहक र खाली ट्रकहरूलाई अवरोध गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधवारदेखि शुरु गरेको आन्दोलनको अवज्ञा गर्दै छिटफुट रुपमा चलेका मालवाहक सवारी साधनलाई अवरोध गरेका हुन । उनीहरुले सडकमा गुडेका मालवाहक सवारी साधनलाई रोकेर पार्किङ गर्न लगाएका थिए ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिका अध्यक्ष नवराज कार्कीले करिडोरमा सामान बोकेर आएका मालवाहक गाडीलाई रोकेर पार्किङमा राख्न पठाएको बताउनुभयो । ‘उद्योग र ट्रान्सपोर्ट सञ्चालकहरूले आफ्नो फाइदाका लागि चालकलाई जबरजस्ती गाडी चलाउन लगाएका छन्, हामीले उहाँहरूलाई सामान लोड नगर्न भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘लोड गरिसेका भएका गाडी भए पनि चलाउन दिएका छैनौँ ।’कार्कीका अनुसार नेपालमा निर्वाध रुपमा चलेका भारतीय गाडीमाथि रोक लगाउनुपर्ने माग राखेर आन्दोलन गरिएको बताउनुभयो । यस अतिरिक्त कवाडी करको नाममा नगरपालिकाहरूको दादागिरी बन्द गर्न पनि आफूहरूले माग गरेको उहाँले बताउनुभयो ।


















