नेपालीहरुमा एउटा समस्या छ, जे भएपनि नभएपनि नेताहरुलाई नै गाली गर्ने । हुनत्नेताका कारण नेपाल विकासमा केही पछाडि परेको कुरा साँचो हो । केही नेता त देशका लागि अभिषाप नै बनेका पनि छन् । तर यसो भन्दैमा सबै चीजको बाधक नेता मात्रै हुन् भनेर व्याख्या गरियो भने पनि राम्रो काम गर्ने नेताप्रति अन्याय होला ।
कतिपय अवस्थामा जनताले पनि आफ्नो ठाउँबाट सही सोच र दृष्टिकोण राख्न आवश्यक छ । फेरि बिर्सन नहुने अर्को कुरा के छ भने नेपालमा नेता बिगार्ने पनि जनता नै हुन् । चुनावको बेला राम्ररी बुझ्दैनबुझी सानोतिनो प्रलोभनमा परेर भोट हालेर जिताउने अनि तिनै मतदाताले चुनाव जितेका नेताहरुको सत्तोसराप गर्ने हाम्रो प्रवृत्ति आत्माघाति छ । आफ्नो कमजोरी लुकाएर नेतालाई मात्रै दोष दिने परिपाटी नेपालीहरुमा छ । जुन एकदमै राम्रो कुरा होइन ।
कुरै गर्ने हो भने नेपालको गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेश दुर्तमार्ग निर्माणमा अवरोध छ । यसको अवरोध पनि ललितपुरको खोकनाबासीको नाममा जनस्तरबाटै भएको हो । यो बाटो बन्यो भने केवल बारा,पर्साका नागरिकहरुले मात्रै फाइदा लिने पनि होइनन । यो नेपालीहरुको दैनिकी र भविष्यसंग जोडिएको एउटा महत्वपूर्ण परियोजना हो । देशको संवृद्धिको लागि यो मार्ग बन्न अति आवश्यक छ । यो बाटो बनाउन जति ढिला भयो त्यत्ति नै नेपाललाई घाटा छ । विशेषगरी ललितपुरको खोकनाका स्थानीयहरुको नाउँमा यो बाटो त्यो क्षेत्रमा बन्न सकिरहेको छैन ।
निजगढ क्षेत्र र मकवानपुर क्षेत्रमा यो बाटोको काम धमाधम अघि बढिरहेको छ । विभिन्न स्थानमा सुरुंग छिचोल्ने कार्य पनि भइरहेको नै छ । नेपाली सेनाले निकै मेहनेत गरेर सुरुंग छिचोल्ने लगायतको काम तीव्रताका साथ हुँदै गरेको अवस्थामा सानो कुरामा आयोजनामा अवरोध गर्नु वास्तवमा विकास विरोधी कुरा नै हो ।हो, बाटो बनाउँदा कोही पनि घरबार विहिन हुनुहुन्छ र पीडितले त्यसको क्षतिपूर्तिबापत मुअब्जा पाउनुपर्छ । तर व्यक्तिको सामान्य क्षति होला कि भनेर आयोजनाको काममा नै अवरोध गर्नु वा अनावश्यक र बढी मुअब्जा मागेर राज्यलाईसमेत अप्ठेरो पारेर विकास विरोधी हर्कत कसैले पनि गर्न मिल्दैन । यसरी विकास नै हुन नदिने अनि नेताले केही पनि काम गरेनन भनेर राइलो गर्नु पनि राम्रो कुरा होइन है ।















