सिमरा,मानव अधिकार समाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाराको जिल्ला भेला शनिवार सिमरामा सम्पन्न भएको छ ।मानव अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गर्दै शनिवार सिमरामा आयोजित जिल्लास्तरीय भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मानव समाजमा भएका नराम्रा कार्य र कुसंस्कारको अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्न एलाइन्सले अहम भूमिका खेल्ने बताउनुभयो ।उहाँले मानव अधिकारको कार्यान्वयन, संरक्षण र सम्बर्धन गर्न नेकपा एमाले तयार रहेको बताउदै उहाँले लोकतन्त्रमा मात्रै मानव अधिकारको संरक्षण हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ठ अतिथि एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले मानव अधिकार कुनै एक पार्टीको मात्रै मुद्दा नभएको स्पष्ट पार्दै मानव अधिकार एलाईन्सले उठान गर्ने सबै विषयमा आफनो पार्टीको साथ र सहयोग रहने बताउनुभयो ।त्यसैगरी कार्यक्रमका मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले समाजलाई परिवर्तनको दिशामा अगाडि बढाउने उद्धेश्यले विभिन्न संघ संस्थाहरुले काम गरी रहेको बताउनुभयो । संस्थाले समाज रुपान्तरणका विषयमा अहम भूमिका निर्वाह गर्दै आएको बताउदै उहाँले मानव अधिकारका सवालमा प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जातीय विभेद र लिङगका आधारमा गरिने सबै खाले विभेदको अन्त्य गरी मानव अधिकारको संरक्षण गरिनु पर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार एलाइन्स बाराका अध्यक्ष अनिल तिवारीले मानव अधिकार एलायन्सले मानव अधिकार र मानव अधिकार हननका हरेक घटनासंग जानकार रहदै आएको बताउदै समाजमा हुने मानव अधिकार हननका घटनाहरुप्रति सचेत रहेको बताउनुभयो ।तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जिल्ला भेलामा पूर्वमधेश प्रदेश सभा सदस्यहरु सुन्दर बिश्वकर्मा, प्रदेश कमिटी सदस्य किशोर शर्मा, सीता गुरुङ, वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङ लगायतले बोल्नु भएकोथियो ।एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामाको आतिथ्यमा भएको सो कार्यक्रमको स्वागत उषा सापकोटा र संञ्चालन मानव अधिकार एलायन्श बाराका सचिव श्रीराम साहले गर्नुभएको थियो ।


















