वीरगञ्ज,बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) भित्र अतिक्रमणमा परेको करिब पाँच सय बिघा सरकारी जग्गा खाली गराउन सङ्घीय सरकारले जीतपुरसिमरा उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।उद्योग मन्त्रालय अन्तर्गतको सेज प्राधिकरणले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा पत्र पठाउँदै अतिक्रमण हटाउन आग्रह गरेको हो ।
प्राधिकरणले उपमहानगरपालिकाको वडा नम्बर ४, १४ र १५ का विभिन्न क्षेत्रमा अनुमति बिना घर–टहरा निर्माण गरी तथा खेतीपाती गरेर सरकारी जग्गा कब्जा गरिएको जनाएको छ । पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि कडा कदम चाल्नुपरेको प्राधिकरणको भनाई छ ।पत्रमा बनेका घर–टहरा हटाउन, लगाइएका बाली उठाउन र नयाँ बाली नलगाउन सबैलाई जानकारी गराउन भनिएको छ । सिमरा सेजको जमिनलाई पाँच ब्लकमा विभाजन गरिएको छ । ‘ए’ ब्लकको केही भाग बाहेक अधिकांश क्षेत्र अतिक्रमणमा परेको बताइएको छ ।जग्गाको भाडा दर घटेपछि सेजमा उद्योग खोल्न चाहनेहरूको सङ्ख्या बढे पनि अतिक्रमणका कारण नयाँ उद्योगका लागि जग्गा अभाव भइरहेको छ । उता, वीरगञ्ज चिनी मिलका तत्कालिन कर्मचारीका करिब ९३ घरधुरी मजदुर परिवार पनि सोही क्षेत्रमा बस्दै आएका छन् ।

















