वीरगन्ज, २२ असोज । वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन्। यसअघि जेनजी (न्भलश्) आन्दोलनको क्रममा उनले एमाले वीरगन्ज महानगर कमिटीको उपाध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। बुधबार उनले एमालेसँगको सांगठनिक सम्बन्ध पूर्णतः अन्त्य गर्दै साधारण सदस्यता पनि छोडेको औपचारिक घोषणा गरेका हुन्।
बुधबार वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कमा आयोजित जेनजी युवाहरुको भेलामा वडाध्यक्ष परागले भने, “मैले असोज ६ गते नै एमालेको साधारण सदस्यबाट राजिनामा दिएको थिएँ। तर त्यो कुरा मिडियामा आएको थिएन। त्यसैले आज सार्वजनिक गर्दैछु।”
परागका अनुसार, जनताले अपेक्षा गरेको सुशासन र परिवर्तनको संकेत एमालेको नेतृत्वमा नदेखिएको कारण आफूले पार्टी परित्याग गर्ने निर्णय लिएको हो। उनले थपे, “जेनजी पुस्ताको सोच र संघर्ष नयाँ युगको सुरुवात हो। पुरानो ढाँचामा अड्किएको पार्टीले त्यो पुस्ताको भावना बुझ्न सकेन। त्यसैले अब म कुनै राजनीतिक दलमा आबद्ध छैन, बरु जेनजी पुस्तासँग मिलेर सामाजिक रूपान्तरणको यात्रामा रहनेछु।”
पराग लामो समयदेखि एमालेको राजनीति सँग संलग्न रहँदै आएका नेता हुन्। स्थानीय चुनावमा उनी एमालेको तर्फबाट वीरगन्ज–२० का वडाध्यक्षमा निर्वाचित भएका थिए। पछिल्ला वर्षमा उनले पार्टी नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका थिए।
यता, नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजिनामा बारेमा आफूहरूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताए। शर्मा भन्छन्, “लिखित रुपमा उहाँले राजिनामा दिएका छैनन्। यसअघि पनि सोसल मिडियाबाट महानगर उपाध्यक्षबाट राजिनामा दिएको सुनिएको थियो। आधिकारिक रुपमा पत्र प्राप्त भएपछि मात्रै पार्टीले त्यसबारे औपचारिक निर्णय गर्नेछ।”
परागको यो कदमलाई स्थानीय राजनीतिक विश्लेषकहरूले एमालेभित्रको असन्तुष्टि र नयाँ पुस्ताको उठानसँग जोडेर हेरेका छन्। जेनजी आन्दोलनले हाल मधेसका विभिन्न ठाउँमा युवाहरूलाई सक्रिय बनाइरहेको बेला एमालेका स्थानीय तहका जनप्रतिनिधिसमेत त्यसतर्फ आकर्षित हुन थालेका देखिन्छन्।


















