काठमाण्डौ – नेपालसँगको पाँच वटा खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिज ’ए’ क्रिकेट टोली नेपाल आइपुगेको छ । वेस्ट इन्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ’ए’ सँग शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी– २० विश्वकप खेल्न अमेरिका जानेछ ।वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि हो ।



















