निजगढ, ३२ साउन– जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा सोमबारबाट लागु हुने गरी फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड समन्वय समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार अर्को सुचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहमा बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले आइतबार जारी गरेको सुचनमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी रुद्धप्रसाद पण्डितव्दारा हस्ताक्षरित सुचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ । जिल्लामा कोभिड भाइरस संक्रमित बिरामीको बढदो संख्यालाई मध्य नजर गरी संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षा वान्छनीय देखिएकोले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पण्डितले बताउनुभयो ।

निषेधाज्ञा जारी भएको क्षेत्रमा अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन रोक लगाइएको छ । पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू भएको हो ।

यो अवधिमा अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने र सवारी साधन संचालनमा पुर्णरुपमा रोक लगाइएको छ । त्यसैगरी कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) मा समेत प्रतिवन्ध लगाइएको छ । छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावतमा पनि पूर्णमा रुपमा बन्द गरिएको छ ।

यो अवधिमा पनि औषधि पसल भने २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी र तरकारी पसलहरु भने बिहान ८ बजेसम्ममात्र खोल्न पाइने छ । कार्यालयले यसअघि साउन १८ गतेबाट जिल्लामा अनिश्चितकालीन निषेधाज्ञा लागू गर्दै आएको थियो ।

Leave a Reply