वीरगञ्ज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा शनिवार वीरगञ्जमा रास्वपाका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । सरकारको कदमको विरोध स्वरूप शान्तिपूर्ण ¥याली निकालेका उनीहरुले लामिछानेको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

वीरगञ्ज क्लासिक बैंक्वेटबाट शुरु भएको यालीले नगर परिक्रमा गर्दै सरकारको विरोधमा नाराबाजी गरेको थियो । प्रदर्शनको क्रममा मिना बजार क्षेत्रबाट सरकारको प्रतीकात्मक शव यात्रा निकालिएको थियो, जुन घण्टाघर चोक पुगेर मुख्य जुलुससँग मिसिएको थियो ।जुलुसको क्रममा केही स्थानमा प्रहरीले हस्तक्षेप गरेको थियो । कोणसभामा रास्वपा जिल्ला अध्यक्ष हरि पन्तले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यको शक्ति प्रयोग गरिएको बताउनुभयो ।

उहाँले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।कोणसभामा केन्द्रीय सदस्य नन्दन यादवले पनि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम बताउनुभयो । उहाँले काँग्रेस–एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो । यादवले भन्नुभयो, “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष सावित गर्नेमा हामी विश्वस्त छौँ ।”

जिल्ला सभापती हरि पन्तको नेतृत्वमा भएको जुलुस र कोणसभामा केन्द्रिय सदस्य डा नन्दन यादव, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाज मिया र पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।प्रमोद राय माजीले सहजीकरण गरेको कोणसभामा प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल पुरुषोत्तम उपाध्याय, पालिका सभापतिहरु माधब बस्नेत, प्रदीप पटेल दिपराज पटेल, मुर्ली जलान माइकल् सापकोटा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply