जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णुप्रसाद अधिकारी, माधव फुयाँल, प्रदिपकुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले नेपालको कम्युनिष्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रुपमा नेकपा एमालेमा लाग्दै आए पनि अब उप्रान्त पार्टी परित्याग गरेको बताएका छन् ।

श्रमिक, किसान, मजदुर, नेपाल र नेपाली जनताको हित र जीवन स्तर सुधारको पक्षमा, गरिब किसान मजदुर वर्गले अपेक्षा गरे अनुसारको कार्य हुन नसक्ने अवस्था देखिएकोले पार्टी छोड्नुपरेको उनीहरुको तर्क छ ।

उनीहरुले पार्टी छोड्नुपर्ने १४ वटा कारणहरु समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । केन्द्रीयताको आडमा कार्यकर्ताहरुलाई बोल्न समेत रोक लगाएर आफ्ना कुराहरु र समस्याहरु कतै राख्न नपाउने बनाईएको, आत्मआलोचना गर्ने परिपाटी समाप्त भई पार्टी, नेताहरु कार्यकर्ताहरु स्वयं गुटबन्दीमा लागेर एक अर्कालाई सिध्याउने निषेधको राजनीति जारी रहेकोले सैद्धान्तिक स्खलन भएको उल्लेख छ । विगतमा पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा च्यात्ने, पार्टी कार्यालय सञ्चालनमा बाधा पार्ने, पार्टीका कार्यकर्ताहरुलाई कुटपीट गर्ने, घर भत्काइदिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पार्टीभित्र आयात गरी पार्टी नेतृत्व तथा स्थानीय तहको समेत जिम्मेवारी दिई पार्टीलाई ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here