सिमरा,१ महिना दिनअघि टिपरको प्रयोग गरेर जीतपुर सिमरा– ३ बझनीमा लालबहादुर पाण्डेको घर भत्काएको घटनामा सिमराका होटल व्यवसायी ईच्छाबहादुर वाग्लेलाई कारबाही नभएको भन्दै स्थानीयहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।स्थानीयहरुले सिमरा विमानस्थलमा गृहमन्त्री श्रेष्ठलाई भेटेर वाग्लेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।सिमरास्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा कारोवारी ईच्छाबहादुर वाग्लेले साउन ९ गते राति ३ बजेर २६ मिनेटमा नियोजित ढंगले टिपरको प्रयोग गरेर पाण्डेको भत्काइएको सिसी क्यामराको फुटेजमा प्रष्ट देखिएको थियो । घटना भए लगत्तै पीडित पाण्डे परिवारले वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले हालसम्म वाग्लेलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयहरुले गृहमन्त्री श्रेष्ठसँग आफूहरुले न्याय नपाएको गुनासो गरेका हुन् ।ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी प्रमुख होबिन्द्र बोगटीलाई निर्देशन दिँदै पीडितलाई तत्काल न्याय दिन निर्देशन दिनुभएको थियो । ‘सिडियो र एसपीले गर्नुहुन्छ भएन भने म कहाँ रिपोर्ट गर्नुहोला,’ गृहमन्त्री श्रेष्ठले पीडितलाई सान्त्वना दिदै भन्नुभयो, ‘जति पावरफुल छु भनेर घमण्ड गरे पनि मध्यरातमा सर्वसाधारण जनताको घर भत्काउनेलाई कारबाही हुन्छ चिन्ता नलिनुस् ।’ साउन ९ मा भएको घटनामा बारा जिल्ला अदालतले वाग्लेका कान्छा छोरा मन्सुन वाग्लेसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । जसमा ४ जना २७ दिनपछि धरौटीमा छुटेका छन् भने वाग्ले फरार छन् ।

Leave a Reply